काठमाडाै । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका डिला खरेल विवादित बनेका छन् । एनआरएनएको विधान विपरित नेपाली कांग्रेसको विभिन्न संगठनको पदमा रहेका उनले एनआरएनएको विधान विपरित उम्मेदवारी घोषणा गरेपछि विवाद सुरू भएको हो ।
ग्लोबल एनआरएनएको विधान अनुसार, अध्यक्षको उम्मेदवारीका लागि कुनै पनि संस्थामा सदस्य र कुनै पद धारक वा पदाधिकारी हुनु हुँदैन । तर अध्यक्षका प्रत्यासी खरेल भने नेपाली कांग्रेसको विभिन्न समूहमा सक्रिय रहेको पाइएको छ ।
नेपाली कांग्रेस मात्र नभएर उनी हिमानी ट्रस्टमा समेत सक्रिय देखिएका छन् । जसकारण विधान विपरित अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका खरेलको उम्मेदवारी खारेज गर्नका लागि निर्वाचन कमिटीमा उजुरी समेत परिसकेको छ ।
‘खरेल कांग्रेसको उद्योग तथा व्यापार विभागमा संलग्न रहेको २०७६ कात्तिक ७ को पत्रबाट पुष्टि भएको छ । विभागमा नियुक्त भएपछि उनलाई विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा बधाई समेत दिएको पाइएको छ,’ निर्वाचन आयुक्तमा परेको उजुरीमा भनिएको छ ।
यस्तै उनले पूर्वराजासँग नजिक रहेको हिमानी ट्रस्टको सल्लाहकारको रुपमा रहेको समेत खुलेको छ । यसबाहेक कांग्रेसको विदेश शाखा जनसम्पर्क समितिमा समेत उनी सक्रिय छन् ।
यसबाहेक कांग्रेसको जनसम्पर्क समिति अष्ट्रेलियाले खुलेरै उनको पक्षमा मत मागेको पाइएको छ ।
खरेललाई अस्ट्रेलियन फाइनान्सियल सर्भिसेज् (एएफएस)को प्रतिनिधि बनेको र केही समयपछि कारबाहीमा परेको समेत देखिएको छ ।
केही समेपछि खरेलको लाइसेन्स एएफएसले रद्द समेत गरेको छ । निर्वाचन आयुक्तलाई दिएको उजुरीमा कुनै पनि पदमा सक्रिय रहेको तथा कुनै पनि कारबाहीमा परेको व्यक्ति उम्मेदवार हुन नपाउने स्पष्ट व्यवस्था रहेको समेत उल्लेख गरिएको छ ।