ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८०, बुधबार

    पोखरा ।    तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन त्यहाँको कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ ।   
      
    बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको छ । लामो समयसम्म बच्चाको बोली नफुुटेका अवस्थामा मन्दिरको दर्शन गराएर बच्चालाई त्यहाँको कुण्डमा डुबाएर निकालेपछि बोल्छन् भन्ने विश्वासका कारण पछिल्लो समयमा टाढा–टाढाबाट बालबच्चा लिएर अभिभावक मन्दिरमा पुग्ने गरेको मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले जानकारी दिए ।   
      
    “बच्चा नबोलेको भन्दै मन्दिरमा दैनिक न्यूनतम एक–दुई जनादेखि १२–१५ जनासम्म बच्चा लिएर आउने गरेका छन्”, उनले भने, “मन्दिरको दर्शन गरी कुण्डमा डुबाएर लगेपछि यहाँ आउनेमध्ये अधिकांशको बोल्ने आउने गरेको पाइएको छ ।”   
      
    बोली खुलाउनका लागि कैयौँ स्थानमा उपचार गरेर सम्भव नभएका पनि यहाँ आएर दर्शन गरेसँगै बोल्ने गरेको विश्वासका कारण मन्दिरप्रतिको आस्था अझै बढेको छ ।बोली नखुलेर पूजा गरी गएका अभिभावकहरू बच्चा बोलेपछि पुनः दर्शनका लागि आउने गरेका कारण पनि विश्वास झन्–झन् बढ्दै गएको उल्लेख गर्दैै उनले पछिल्ला समयमा सञ्चारमाध्यमबाट हुने गरेको प्रचार–प्रसारले पनि मन्दिरप्रतिको आस्था अझै जगाएको बताए ।   
      
    चारैतर्फ वनजङ्गलले घेरिएको पहाडको बीचमा रहेको यस मन्दिर र परिसरमा नै रहेको रहस्यात्मक लहरी आउने पानीको कुण्ड यहाँको विशिष्टता हो । बराहलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिएको छ ।   
      
    मन्दिर स्थापनाको यकिन तथ्य फेला नपरे पनि प्राचीनकालदेखि नै यसको अस्तित्व रहँदै आएको पाइएको छ । स्कन्दपुराणको हिमवत्खण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएका कारण पनि यसको महिमा र गरिमा चुलिएको छ ।   
      
    मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घन्टमध्ये एउटामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको पुजारी लम्सालको भनाइ छ । त्यसअघिका अन्य प्रमाण भने फेला नपरेको उनले बताए ।   
      
    मन्दिरमा प्रत्येक नयाँ वर्षको दिन, बडादसैँ, चैतेदसैँको दुर्गा पक्ष, श्रीपञ्चमीका साथै अन्य तिथि र पर्वमा ठूलो सङ्ख्यामा भीड लाग्ने गरेको छ । मन्दिरमा बोका, राँगाको बलि दिइन्छ भने परेवा उडाउने प्रचलन छ । मन्दिरमा एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर भने बलि दिइँदैन । ती दिनमा अन्य नियमति पूजाआजा भने गरिन्छ ।   
      
    मन्दिरमा तनहुँसँगै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । बोली नखुलेका बच्चाको बोली आउने विश्वासका कारण पछिल्ला समयमा टाढा–टाढाबाट दर्शनार्थी आउने गरेको पुजारी लम्सालले बताए । विदेशमा विभिन्न सेवा पेसाका क्रममा गएका व्यक्तिहरू पनि बच्चाको बोली नखुलेपछि नेपालमा फर्केर ढोरबाराहीको दर्शन गर्ने गरेका छन् ।   
      
    लहरी चलेर एकैक्षणमा भरिने पानीको कुण्ड क्षणभरमा नै सुक्ने गर्दछ ।लहरी चलेका बेलामा गरिने पूजाआजालाई अझै महत्वका साथ हेर्ने गरिएको छ । नबोल्ने बच्चालाई मन्दिरमा दर्शन गराए लहरी चलेका बेलामा कुण्डमा डुबाएर निकाल्ने प्रचलन छ ।   
      
    ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने धार्मिक कथन एवं यहाँ छुट्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रूपमा लिइने गरिएको छ ।लहरी छुट्ने मुख्यद्वारमा बस्ने रजबामलाई साक्षत् बराह भगवान्का रूपमा लिने गरिन्छ । लहरीका क्रममा मात्रै देखिने रजवामको दर्शनलाई भक्तजनले शौभाग्यका रूपमा लिने गरेका छन् । हिउँदयाममा केही समय लहरी नछुट्ने र त्यस समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने किंवदन्ती पनि चल्दै आएको छ ।   
      
    ढोरबराहप्रतिको आस्था र विश्वास बढ्दै गएका अवस्थामा स्थानीय युवाहरू पनि यहाँको संरक्षण र विकासमा लागिपरेका छन् । ढोरबराह क्षेत्रको संरक्षण र विकास गर्दैै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सम्बद्ध क्षेत्रमा निरन्तर खबरदारी गर्दैै आइएको फिर्दी युनाइटेड क्लबका सचिव मनोज बानियाँले बताए ।   
      
    ढोरबराह मन्दिरप्रतिको धार्मिक पर्यटकीय आकर्षण दिनप्रतिदिन बढ्दै गएको ढोरबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं शुक्ला गण्डकी नगरपालिका वडा नं ९ का वडाध्यक्ष बाबुराम पुलामीले बताए ।   
      
    “बोली नखुलेकाको मन्दिरको दर्शन गरेपछि बोल्न थालेका प्रत्यक्ष प्रमाणहरू हाम्रा वरपर नै छन्”, उनले भने, “पछिल्लो समयमा प्रचार–प्रसारले देशका टाढा–टाढाका साथै विदेश गएका व्यक्तिहरू पनि बोली आउने विश्वाका कारण मन्दिरमा दर्शन गर्न आउँछन् ।”    रासस