


दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि निरन्तर पानी परिरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज सूचना जारी डुबान हुन सक्ने, पहिरोको जोखिम बढी हुने स्थान र नदी किनारमा बसोबास गर्नेहरुले पानी पूर्ण रुपमा नरोकिएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
मुसलधारे वर्षाका कारण जिल्ला भएर बग्ने साना तथा ठूला नदीहरुमा पानीको बहाव ह्वात्तै बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
पृथ्वीराजमार्गको कोत्रे–आँबुखैरेनी सडकखण्डको स्तरोन्नतिका लागि भएको कटिङका कारण समेत ठाउँ–ठाउँमा पहिरो जानुका साथै कतिपय स्थानमा भासिएर सडक अवरुद्ध हुने क्रम रहेको कार्यालयले जनाएको छ । यसै तथ्यलाई दृष्टिगत गरी वर्षा पूर्ण रुपमा नरोकिएसम्म अत्यावश्यक काम परेको अवस्थामा बाहेक अन्य अवस्थामा उक्त सडकमार्ग भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।