दमाैली । जिल्लाको पुरानो नगरपालिका व्यास नगरपालिकाले वार्षिक कार्यक्रममा समेटेका योजना कार्यान्वयन नगरेको पाइएको छ । आर्थिक वर्ष २०७९÷८० मा विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेपनि नगरपालिकाले त्यस्ता कार्यक्रम कार्यान्वयन नगरेको पाइएको हो ।
नगरपालिकाले विभिन्न वडामा विविध कार्यक्रमका लागि बजेट विनियोजन गरेपनि उक्त वर्ष त्यो बजेट खर्च हुन सकेन ।
मावि स्तरीय विद्यार्थी उत्कृष्ट प्रतिभा पुरस्कारका लागि रु एक लाख ५० हजार विनियोजन गरेपनि नगरपालिकाले कुनैपनि विद्यार्थीलाई प्रतिभा पुरस्कार प्रदान गरेन । ज्येष्ठ नागरिक सम्मान, दिवा सेवा केन्द्र सञ्चालनका लागि रु १० लाख, बीस वर्ष पुगेपछि विवाह गर्ने दलित, बोटे, चेपाङ, कुमाल, दरै सहयोग कार्यक्रम अन्तर्गत रु दुई लाख, लैङ्गिक हिंसा निवारण कोषका लागि रु एक लाख, अपाङ्गता, महिला ज्येष्ठ नागरिक हिंसा विरुद्ध प्रचारप्रसारका लागि रु एक लाख, एकल महिला तथा पुरुष सहयोग कार्यक्रम अन्तर्गत दश लाख, उन्नत बीउ वितरकलाई प्रोत्साहन अनुदानबापत रु एक लाख ५० हजार बजेट राखिएपनि उक्त कुनैपनि कार्यक्रम सञ्चालन हुन सकेन ।
त्यस्तै अन्य थुप्रै कार्यक्रममा पनि बजेट राखेर नगरपालिकाले कार्यान्वयन नगरेको पाइएको छ ।