१६ वर्षअघि उच्च शिक्षाका लागि विदेशिएका सागरले अष्ट्रेलियामा खोले दोस्रो कलेज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    १६ वर्षअघि उच्च शिक्षाका लागि विदेशिएका सागरले अष्ट्रेलियामा खोले दोस्रो कलेज

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८०, बिहीबार

    दमाैली । तनहुँबाट उच्च शिक्षाका लागि १६ वर्ष अघि अष्ट्रेलिया पुगेका सागर लोहनीले आफ्नो स्वामित्वमा अस्ट्रेलियामै दोस्रो कलेज सञ्चालनमा ल्याएका छन् ।  अष्ट्रेलियाको ‘चर्चहिल ईन्स्टिच्युट अफ हायर एजुकेसन’ कलेज  भर्खरै लोहनी लगायतको स्वामित्वमा सञ्चालनमा आएको हो । 

    कलेजमा ब्यचलर्स इन बिजनेस अन्तर्गत आइटी, एकाउन्ट, म्यानेजमेन्ट र हस्पिटालिटीमा पढाइ हुने लोहनीले बताए । पछिल्लो समय अष्ट्रेलिया उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूका लागि ध्यानमा राखी नयाँ कलेज सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।  यसअघि अष्ट्रेलियाको न्यू साउन वेल्समा उनको स्वामित्वमा प्राविधिक कलेज ‘इन्टरनेसनल इन्स्टिच्युट अफ एजुकेसन’ सञ्चालनमा आइसकेको छ । 

    लोहनीले ३ बर्ष देखि अस्ट्रेलियामै चाइल्ड केयर समेत सन्चालन गर्दै आइरहेका छन् । उक्त चाइड केयरलाई अस्ट्रेलियाको स्टेट सरकारले ५३ बिलियन डलरको पाठ्यक्रम सम्बन्धी पाइलट प्रोजेक्ट संचालन गर्नका लागि चयन गरेको लोहनीले जानकारी दिए ।

    लोहनीले लामो समय अष्ट्रेलियामा विभिन्न भोकेसनल कलेजहरूमा आवद्ध भएपश्चात कलेज सञ्चालनमा ल्याएका हुन् ।  अस्ट्रेलिया प्रवेशको सुरुवातीताका रिटेल चेनमा काम गरेको अनुभव समेट्दै लोहनीले हाल सिड्नीमा ‘साथीमार्ट’ पनि सन्चालनमा ल्याएका छन् । 

    लोहनी अस्ट्रेलियाको पार्लामेन्ट अन्तर्गतको ‘नेशनल लिडरसीप फोरम’मा कार्यकारी सदस्य समेत रहेका छन् । अब छिट्टै नेपालमा रियल स्टेट र हस्पिटालिटीको ब्यवसायमा आवद्ध हुने योजना रहेको लोहनी बताउँछन् ।

    लोहनीले अष्ट्रेलियामा रहेर नेपालमा समाजसेवा समेत गर्दै आइरहेका छन् । उनकै नेतृत्वमा विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य उपकरण लगायतका सामग्री साथै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ती र खेलकुद सामग्री उपलब्ध गराउँदै आइरहेका छन् ।
    सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनीले अस्ट्रेलियाकै युनिभर्सिटीबाट कानून, एकाउटिङको अध्ययनसँगै एमबिए समेत गरेका छन् । हाल उनी पिएचडी फेलो हुन् ।