पोखरा। पोखरामा गाउँपालिका अध्यक्षसहित ७ जना जुवाडे तास खेल्दाखेल्दै पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय, बैदामले पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ हो।
बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७ जना जुवाडेलाई नियन्त्रणमा लिएको बैदाम प्रहरी प्रमुख डिएसपी वेद जोशीले बताए।
पक्राउ पर्नेमा मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनसमेत रहेको प्रहरी स्रोतले बताएको छ। उनले पक्राउ परेपछि प्रहरीलाई नाम फरक दिएका थिए।
उनले प्रहरीलाई ५८ वर्षीय मोहन थकाल नाम टिपाएका थिए।
पक्राउ पर्नेमा होटल सञ्चालक मुस्ताङ घोरपझोङ गाउँपालिका-२ का ५७ वर्षीय इन्द्रबहादुर शेरचन, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा–८ सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षीय गुञ्ज हिराचन, ५९ वर्षीय दलबहादुर हिराचन रहेका छन्।
पक्राउ परेका जुवाडेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी जोशीले जानकारी दिए।