दमाैली । तनहुँकाे भानु नगरपालिका-१२ बयापानी जन्मघर भइ हाल बेलायत रहेका विमल अधिकारीले आफूले अध्ययन गरेकाे विद्या निकुञ्ज माध्यमिक विद्यालयमा निजी शिक्षककाे जाेहाे गरेका छन् ।
साेही विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका अधिकारीले हाल विद्यालयमा निजी शिक्षकका लागि सहयाेग गर्दै आएका छन् ।
बेलायतमा रहँदा अधिकारीलाई आफू पढेको विद्यालयका लागि केही सहयोग गर्ने इच्छा जागेकाे थियाे । साेही बमाेजिम उनले विद्यालयका प्रधानाध्यापक बसन्ती शर्मा घिमिरे, व्यवस्थापन समिति, पूर्व विद्यार्थी लगायत सम्बन्धित पक्षसँग राय लिएर आवश्यकताकाे पहिचान गरेका थिए ।
२०७३ सालदेखि स्थापित पूर्व विद्यार्थी मञ्च विद्यालयको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ लागि परिरहँदा नवगठित समितिसँग समन्वय गर्दै अधिकारीले सहयाेग गर्दै आएका छन् ।
अधिकारीले एक निजी शिक्षककाे वर्षभरीकाे तलब साथै चाडपर्व खर्च उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । साेही बमाेजिम शैक्षिक शत्र २०८० देखि निरन्तर सहयोग गरिरहेका अधिकारीले अहिले आफ्नो बुबाको जन्म दिनको साथै विभिन्न न्यून आय भएको विद्यार्थीहरुलाई नगदै सहयोग समेत गरेका छन् ।
एक शिक्षकको नै व्यवस्थापनकाे जिम्मा अधिकारीले लिएपछि विद्यालयमा पठनपाठनमा सहयोग पुगेको प्रधानाध्यापक बसन्ती शर्मा घिमिरेले बताइन् । विद्यालयमा देखापर्ने समस्याहरु समाधानको प्रयासको लागि निरन्तर लागि पर्ने पूर्व विद्यार्थी मञ्च संयोजक राजु थापाले उल्लेख गरे ।
विद्यालयको इतिहासमा कुनै पनि पूर्व विद्यार्थिले निजी शिक्षक जोहो गरेर अधिकारीले सबैको सामु उदहरण प्रस्तुत गरेको विद्यालयका पूर्व प्रअ चन्द्र प्रकाश पौड्याल बताउँछन्प ।
उनी भन्छन्, ‘नयाँ सोच भएका विद्यार्थी उत्पादन गर्न सकेकोमा मलाई गर्व छ। विद्यालयको कमाई पनि विद्यार्थी नै हुन । आफू शिक्षण पेसाबाट अबकास पाएता पनि विद्यार्थिहरुले एउटा उदाहरणीय काम गरेकोमा मलाई विद्या निकुञ्ज पूर्व विद्यार्थी प्रति गर्व छ ।”
पूर्व विद्यार्थी मञ्चको गठन समयमा सो संस्थाको विधान निर्माण एवं अन्य विषयमा सकृय सहयोग गरेकाे पूर्व विद्यार्थी मञ्चका संरक्षक शंकरअधिकारीले जानकारी दिए । उनले भने, ‘म आफ्नो विद्यालयमा पूर्व विद्यार्थीको सहयोग कसरी जुटाउन सकिन्छ भनेर लागिपरिरहँदा उहाँले पूर्व विद्यार्थी मञ्चको गठनको लागि सकृय साथ र हौसला दिनु भएको थियो। पछिल्लो समय उहाँको सहयोग सबैको लागि उदाहरणिय नै छ । हामी जहाँ रहे पनि आफ्नो जन्मस्थान र विद्यालयलाई माया गर्नु पर्छ भन्ने प्रेरणाका स्रोत बन्नु पनि महानता नै हो ।’
नेपालमा रहँदा विभिन्न कलेजहरुमा अंग्रेजी अध्यापन गरेका अधिकारी शिक्षा क्षेत्रलाई नजिकबाट नियालेका छन् । साथै बेलायतमा रहँदा त्यहाँको शिक्षा प्रणाली कम्तिमा पनि आफ्नो विद्यालयमा लागू गराउन सकेमा मात्र विद्यालयको लागि ठूलो सहयोग हुनेछ भन्ने मान्यता राख्दै पूर्व विद्यार्थी मञ्चको सबै जसो भर्चुअल बैठकमा पनि उनले सकृयताका साथ भाग लिँदै आएका छन् ।
उनकाे सकृयताको सम्मान गर्दै पूर्व विद्यार्थी मञ्चको भर्चुअल बैठकले उनलाई क्रिटिकल एनालाइसिस एण्ड म्यानेजमेन्ट टिमकाे संयाेजककाे रुपमा चयन गरेकाे छ । विद्यालयलाई माया गर्ने तर विदेशमा रहेका पूर्व विद्यार्थीबीच विद्यालयको तत्कालिन समस्याको पहिचान र समधानका उपाय सहितको राय दिने उद्देश्यले हुने बैठकमा पनि अधिकारीले विद्यालयको समस्याको समधानको लागि सहि नेतृत्व प्रदान गर्दै आएकाे बताइन्छ ।
पूर्व विद्यार्थी नवराज अधिकारीका अनुसार कुनै समय विद्यार्थीले खचाखच भरिएको विद्यालयमा विद्यार्थी संख्या घट्दै गएसँगै प्राथमिक तहमा शिक्षक दरबन्दी कटौती भएको अवस्थामा उनकाे सहयोग प्रशंसनीय छ। उनले भने, ‘तालुक निकायहरुमा हारगुहार गर्दा समेत शिक्षक अभाव समस्याको समाधान निस्किएन । विद्यालयमा दरबन्दी कटौती गरिए पछि शिक्षक व्यवस्थापनमा समस्या आएको थियो । यस्तो विषम परिस्थितिमा विद्यालयलाई निजी शिक्षक सहयोग गरेर विमल अधिकारीले विद्यालयलाई ठूलो गुन लगाउनु भएको हो । गरिब तथा न्यून आय स्तर भएको अविभावकहरुबाट चर्को शुल्क उठाउनु भनेको केटाकेटीलाई शिक्षाबाट बञ्चित गराउनु जस्तै थियो । उपाय हुनेहरु त गाउँ छाडी गैइहाले ।’