बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्यमन्त्री बस्नेतद्वारा प्रशंसा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्यमन्त्री बस्नेतद्वारा प्रशंसा

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८०, बिहीबार

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गरेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा उनले केन्द्रीय मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्योपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताए ।

    उनले भने, “केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल शय्या निःशुल्क गर्ने निर्णय गरेपछि बागमती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका शय्या निःशुल्क गर्न सल्लाह दियौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्रीज्यूले निर्णय गरेर साथ दिनुभयो ।”

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका तीन हजार पाँच सय ६५ जनरल शय्या निःशुल्क गरेपछि बागमती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरूका आठ सय शय्या निःशुल्क गरेको थियो । विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बागमती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति रु एक लाख सहुलियतमा थप रु ५० हजार उपलब्ध गराइरहेको, हृदयरोगका बिरामीलाई रु एक लाखमा थप गरेर रु एक लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनीय रहेको स्वास्थ्यमन्त्री बस्नेतले बताए ।

    बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार–प्रसारको कमीले जनमानसमा पुग्न नसकेको बताए । उनलेले हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनुपर्नेमा जोड दिए ।

    बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ, सोना परियारलगायतले बागमती प्रदेशले स्वास्थ्योपचारमा उल्लेखनीय काम गरिरहेको बताउनुभयो । सो अवसरमा बागमती प्रदेशले नेपाल रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता आदान–प्रदान गरेको छ ।

    सहिद गङ्गालाल हृदयरोग प्रतिष्ठानसँग मुटुरोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर अस्पतालसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउनेसम्बन्धी सम्झौता आदान–प्रदान गरेको छ । यस्तै बागमती प्रदेशको चिकित्सा शाखा प्रमुख डा खगेश्वर गेलालले बागमती प्रदेशले सीमान्तकृत विपन्न जनताका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविकाका लागि स्वास्थ्य बीमामा ५० प्रतिशत सहुलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी दिए ।