सामान्य बिरामी हुँदा पनि पोखरा जानु पर्ने स्थिति आखिर कहिलेसम्म मेयर साब ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सामान्य बिरामी हुँदा पनि पोखरा जानु पर्ने स्थिति आखिर कहिलेसम्म मेयर साब ?

    राजेन्द्र परियार

    १० आश्विन २०८०, बुधबार

    आदरणीय व्यास नगरपालिकाका मेयर बैकुण्ठ सर, यहाँ आरामै छु । तपाई पनि आरमै हुनुहुन्छ होला । आशा छ तपाइँलाई डेङु लागेको छैन होला नलागोस भन्ने कामना गर्दछु । हुन त मलाई चिठी लेख्न मन थिएन तर चिठी नलेखी मनै मानेन । तपाईं पहिलो पटक मेयर पदमा निर्वचित भएर आउँदा म लगायत व्यासवासीलाई शिक्षा, स्वस्थ्य लगायत विकासका पूर्वाधारमा परिवर्तन आउने आशा राखेका थियौ । तर तपाइले ठक्कै उल्टो गर्नु भयो । म तपाइलाइ पहिलो पटक मेयर पदमा निर्वचित हुँदाको आफ्नो एजेन्डाहरु पुनः एक पटक पढ्नका लागि अनुरोध गर्न चाहे । तपाईंले ती एजेन्डाहरु के कति पूरा गर्नु भो ? तपाईंसँग हिसाब नै छैन होला किन भने त्यस अनुरुप काम नै गर्नु भएन ।

    म आज धेरैको बारेमा चर्चा गर्न चाहिन व्यासको शिक्षा र स्वास्थ्यकाे मत्रै कुरा गरौ । तपाईं आफै पनि शिक्षा क्षेत्रमा लामो समय बिताउनु भएको हो । व्यासका कुन चाहिँ सरकारी स्कुलका विद्यार्थीलाई खाजा उप्लब्ध गराउनु भएको छ ? तपाईंहरुको बैठकमा त महिनामै लाखाैको बिल उठाउनु हुन्छ । के तपाईहरुको भोक र ती सरकारी स्कुलमा अध्यनरत साना बाबू नानीहरुको भोक एकै होइन र ? शिक्षक सरुवा बढुवामा आफ्नालाई काखा पराईलाई पाखा किन ? आफ्नो आलोचना गर्नेलाई दश कोस टाढा सरुवा किन ? तपाईंको यो दोश्रो कार्यकाल हो । अब त जनता पनि तपाई देखेर हैरान भएका हुन कि जस्तो लाग्छ । सामाजिक संजालभरी तपाईको आलोचना छ । जनता लागि काम गर्छु भन्ने भावना कहिले आउने ? कहिलेसम्म व्यास नगरपालिकालाई आफ्नो कार्यकर्ताकाे भर्ती केन्द्र बनाइ रहनु हुन्छ ? तपाईको यो व्यास नगरपालिकामा छैठौ वर्ष हो ।

    यत्रो वर्षमा खै एउटा सुबिधासम्पन्न अस्पतालको परियोजना ? सामान्य बिरामी हुँदा पनि पोखरा जानु पर्ने स्थिति आखिर कहिले सम्म मेयर साब ? तपाईं बिरामी हुँदा तपाईंको खर्च त राज्यले बेहोर्छ तर जनताको छोराछोरी बिरामी हुँदा चै के गर्ने ? म अहिले जुन देशमा छु यस देशमा आफ्नो नगरबासीलाई शिक्षा स्वस्थ र रोजगारी निशुल्क छ । हाम्रो व्यासमा यो कहिले हुने ? अरु गाउँपालिका नगरपालिका स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका अस्पतालमा कार्यरत डाक्टर नर्स कर्मचारीलाई प्रोत्साहन भत्ता दिन्छ तपाइले कहिले दिनु भयो ? किन तपाईको स्थानीय तहमा राम्रो डाक्टर नर्स बस्न मान्दैनन् ? ७८ सालमा दमौली अस्पताललाई २५ लाख दिन्छु भनेर बोल्नु भो तर अस्पतालको व्यवस्थापन समितिमा अन्य कुनै पार्टीको मान्छे आए पनि अस्पताललाई दिन्छु भनेको पैसा किन रोक्नु भो ? अस्पताल जस्तो क्षेत्रमा राजनीति किन ? यी सबै कुराले तपाईं सम्पूर्ण रुपले असफल मेयर साबित हुनुभएको छ । उपमहानगरपालिका बनाउँछु भनेर चुनाव जित्नु भएको मेयर पद व्यास नगरलाई गाउँपालिकामा नझार्दिनु होला । तपाईबाट हाम्रो नगरपालिका जुन रुपले चल्नु पर्ने चलेन अब कृपया मेयर पदबाट आज राजिनामा दिएर योग्य व्यक्तिको लागि ठाउँ खाली गरिदिनुहोला ।