जब प्रबन्धकले सहकारीको २ करोड ६९ लाख झ्वाम पारे…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जब प्रबन्धकले सहकारीको २ करोड ६९ लाख झ्वाम पारे…

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८०, बिहीबार

    दमाैली । रकम हिनामिना गर्ने भानुमति साना किसान सहकारी संस्थाका प्रबन्धक पक्राउ परेका छन् । भिमाद नगरपालिका–९ कटनछापका ५२ वर्षीय चुुत्रबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार पक्राउ गरेको हो ।

    चुत्रबहादुरले २ करोड ६९ लाख ७१ हजार ९६६ रुपैयाँ ८८ पैसा हिनामिना गरेको भन्दै सहकारीले मंगलबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको थियो ।

    भिमाद नगरपालिका–९ सखेपमा रहेको सहकारीको थापाले सेयर रकम, बचत रकम र १३० जना शेयर सदस्यलाई काल्पनिक ऋणी बनाएर रकम हिनामिना गरेका उजुरी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

    जाहेरी परेपछि चुत्रबहादुरलाई प्रहरीले बुधबार कटनछाप घरबाटै पक्राउ गरेको हो । जिल्ला अदालत तनहुँबाट ९ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    चुत्रबहादुर गाउँकै सहकारीमा २०६९ असोज १४ गते प्रबन्धक नियुक्त भएका थिए । गएको कात्तिकमा उनले सहकारीको रकम हिनामिना गरेको शंका लागेपछि उपाध्यक्ष लेखनाथ तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

    २ करोड ३९ लाख रुपैयाँ हिनामिना गरेको छानविनबाट पुष्टि भएपछि उनलाई कात्तिक २५ गते निलम्बन गरेको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।

    ‘साना किसान लघुवित्तको पोखरा पोखराबाट ऋण ल्याएको १ करोड ५४ लाख रुपैयाँ लगानी कहाँ भयो कतै देखिएन’, ती सदस्यले भने, ‘सहकारीकै बचत रकम पनि कहाँ खर्च भयो भन्ने छैन ।’

    भिमाद नगरपालिकाको कार्यालयमा पुस २२ गते प्रबन्धक थापाविरुद्ध उजुरी परेको थियो ।

    त्यतिबेला चैत मसान्तसम्म भुक्तानी गर्छु भनेर समय माग्नुभयो । हामीले समय दियौं । दिएको समयमा उहाँले भुक्तानी गर्नुभएन’, सञ्चालक समितिका सदस्यले भने ।

    भिमाद नगरपालिकामा २ करोड ३९ लाख रुपैयाँ हिनामिना गरेको भन्दै उजुरी परेको थियो । अहिले व्याजसहित २ करोड ६९ लाख ७१ हजार ९६६ रुपैयाँ ८८ पैसा पुगेको छ ।

    २०६८ सालमा खुलेको सहकारीमा ६६३ शेयर सदस्य छन् । गाउँकै सहकारीलाई विश्वास गरेका शेयर सदस्य र बचतकर्ता बिचल्लीमा परेका छन् ।

    चुत्रबहादुर भन्दा पहिलेका प्रबन्धक पनि रकम हिनामिना गरेपछि निकालिएका थिए ।

    सहकारीले केही वर्ष अगाडि उपभोक्ता पसल चलाएको थियो । पसलकोसमेत ७१ लाख रुपैयाँ बेरुजु देखिएको छ । हाल उपभोक्ता पसल टाट पल्टेको छ ।