माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । नेपाल चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ ।

    समूहको दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्सलाई १३८ रनले हराएको हो । २१३ रनको लक्ष्य पछ्याएको मालदिभ्स ७४ रनमा समेटियो । माल्दिभ्सलाई सस्तोमा समेट्न नेपालका अविनाश बोहरा एक्लैले ६ विकेट लिए । सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक-एक विकेट हात पारे ।

    अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिएका थिए । माल्दिभ्सका तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडे । मध्यक्रमका मुआभियाथ गानीले ३६ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोड्यो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले ५२ , गुल्सन झाले ३५, कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । मल्लले २० बलमा २ छक्का र ३ चौका प्रहार गरे । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हिर्काए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका प्रहार गरे । पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भए ।

    नेपालले पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान जित हात पारेको थियो।