विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा श्रीलंका १०२ रनले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा श्रीलंका १०२ रनले पराजित

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८०, शनिबार

    नयाँ दिल्ली । दक्षिण अफ्रिकाले आईसीसी एकदिवसीय विश्वकपमा शानदार सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हराएको हो ।

    दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४ सय २९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २६ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि चारिथ अशलांकाले ७९ रनको योगदान दिए भने कुशल मेन्डिसले ७६ रन बनाए । कप्तान दासुन शानाकाले पनि ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

    दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ३ तथा केशव महाराज, कागिसो रबाडा र मार्को जानसेनले २–२ विकेट लिए ।

    यसअघि, एकै खेलमा तीन खेलाडीले शतक बनाएपछि दक्षिण अफ्रिकाले टस हारेर पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि अस्ट्रेलियाले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।

    दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डी कक, रासी भान डेर डुसेन र एइडन मारक्रमले शतक बनाए । कुनै पनि इनिङ्समा एकैपटक तीन खेलाडीले शतक बनाएको यो मात्र चौथो अवसर हो । यसअघि दक्षिण अफ्रिकाले नै दुई तथा इंग्ल्याण्डले एकपटक यो उपलब्धि हासिल गरेको थियो । विश्वकपको खेलमा भने यस्तो भएको पहिलो अवसर हो ।

    यता मारक्रम ४९ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडी पनि बने । उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए । 

    त्यस्तै, ओपनर डी ककले ८४ बलमा आफ्नो शतक पुरा गर्दै आउट भए । उनले १२ चौका र ३ छक्का हिर्काए । डुसेनले ११० बलमा १ सय ८ रन बनाए । उनले १३ चौका र २ छक्का हिर्काए ।

    खेलको अन्त्यतिर डेभिड मिरले ३९ तथा हेनरिच क्लासेनले ३२ रनको योगदान दिए । श्रीलङ्काका लगि दिल्सान मधुशंकाले २ विकेट लिए ।