काठमाडाै । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित सर्प पालनमा कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोपमा मधेश प्रदेशका तत्कालीन मन्त्रीसहित ७ जनाविरुद्ध झण्डै १८ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसहित ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरी आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक मामिला यादवका अलावा तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका तत्कालीन अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
त्यसैगरी लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्काविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
तत्कालीन मन्त्री यादव, झलनाथ खनाल प्रतिष्ठानका तत्कालीन पदाधिकारीहरू र तत्कालीन नगरप्रमुख खड्काविरुद्ध १७ करोड ९८ लाख ३३ हजार तथा तत्कालीन सचिव श्रेष्ठविरुद्ध ३ करोड २७ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
अख्तियारले लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित प्रतिष्ठानको नाममा रहेको ८ विघा ९ कठ्ठा ६ धुर जग्गा, सोही संस्थाको नाममा रहेका चारपाङ्ग्रे सवारी साधान समेत जफत हुन माग दाबी लिएको छ ।