काठमाडौं । नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितसहित आफ्नो रवाफिलो यात्रा जारी राख्ने प्रयासमा रहेको छ।
पहिलो खेलमा बुधबार युएईलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको नेपालका लागि घरेलु समर्थकमाझ लगातार दोस्रो खुसी साट्ने अवसर रहेको छ।
टी-२० विश्वकप छनोटको तयारीका रूपमा रहेको प्रतियोगितामा यिनै देशहरूसँग प्रतिस्पर्धा गर्ने भएकाले पनि नेपाल आफ्नो बलियो लयलाई कायम राख्न चाहन्छ।
कुनै समयमा नियमित रूपमा एक-अर्का विरुद्ध भिड्दै आए पनि पछिल्लो पटक भने यी दुई देशबीच प्रतिस्पर्धा हुन सकेको छैन।
टी-२० अन्तर्राष्ट्रियमा पछिल्लो पटक नेपाल र हङकङबीच २०२० को मार्चमा एसिसी टी-२० इस्टर्न रिजन कपका दौरान प्रतिस्पर्धा भएको थियो। जसमा हङकङ ४३ रनले विजयी भएको थियो।
सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपबाट नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो। त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ।