नेपालले जित्याे यु१९ प्रिमियर कपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालले जित्याे यु१९ प्रिमियर कपको उपाधि

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । नेपालले युएईलाई हराउँदै एसिसी यू१९ प्रिमियर कपको उपाधि जितेको छ । युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएई २६.५ ओभरमा १ सय ७८ रनमा अल आउट भयो ।

    जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा युएईले २७ ओभरमा १ सय ९८ रनको लक्ष्य पाएको थियो ।

    ध्रुब परेशारल ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । कप्तान आयन खान २४ बलमा १ चौका र २ छक्कासहित ३० तथा अर्यांश शर्मा ३७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । अन्य कुनैपनि युएईका ब्याटरले राम्रो गर्न सकेनन् ।

    नेपालका आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ५ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ५.५ ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले एक विकेट लिए ।

    त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको थियो ।

    नेपालको जितमा देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । उनको यो यू१९ करिअरको तेस्रो शतक हो । यो शतकसँगै उनी नेपालबाट यू१९ मा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन् ।

    यसअघि यसै प्रतियोगितामा इरानविरुद्ध १ सय रन बनाएका थिए । गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध उनले १ सय २५ रन बनाएका थिए ।

    यू१९ मा अर्जुन कुमालले दुई शतक बनाएका छन् । अन्य कुनैपनि नेपाली ब्याटरले यू१९ मा दुई शतक हानेका छैनन् । आजको खेलमा ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए ।

    कमजोर सुरुवात गरेको नेपाललाई अर्जुन र देव मिलेर तेस्रो विकेटका लागि १ सय ३२ बलमा १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए ।

    दीपक डुम्रे ३० बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए । पाँचौं विकेटका लागि उत्तम र दीपक डुम्रेल ५८ रनको साझेदारी गरेका थिए ।

    यस खेलमा खेल्ने मौका पाएका विकेटकिपर उत्तम थापामगरले ६७ बलमा ४ चौका र १ छक्कासहित महत्वपूर्ण ५७ रन जोडे । हेमन्त धामी ७ र विशाल विक्रम केसी ३ रनमा आउट भए । दीपेश कँडेल ७ बलमा १ चौकासहित १० रनमा अविजित रहे ।

    युएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ८ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । कप्तान आयन खानले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । नेपाल एसिया कपमा पनि छनोट भएको छ । नेपाल, युएई र जापान प्रिमियर कपबाट एसिया कपको लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।