दमाैली । तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छिम्केश्वरीका कृषिजन्य सामग्री सर्वसाधारणको रोजाइमा परेको छ । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित साग, मह, गुन्द्रुक, दाल लगायत सर्वसाधारणको रोजाइमा परेको हो ।
आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित कृषिजन्य सामग्रीले बजार पाउन थालेपछि यहाँका कृषक खुसी भएका छन् । यहाँका कृषकले प्रत्येक शुक्रबार आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुने हाटबजारमार्फत् कृषिजन्य सामग्री विक्री वितरण गर्दै आएका छन् ।
गाउँपालिकको सक्रियतामा प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको छ । छिम्केश्वरीका कृषकले आजमात्रै रु एक लाख ७८ हजार छ सयको कृषि सामग्री विक्री वितरण गरेका छन् ।
साग, मह, गुन्द्रुक, केराउ, सिमी, दाल, फर्सी, सखरखण्डाको माग उच्च रहेको आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। उनले भने “यहाँ उत्पादित साग र गुन्द्रुकको माग बढी छ । माग अनुसार पु¥याउनै सकिएको छैन । यहाँको हावापानीका कारण साग र गुन्द्रुक सर्वसाधारणको रोजाइमा परेको छ ।”
उनका अनुसार रैथाने दाल सात सय ५० केजी आधा घण्टामै विक्री भएको थियो । कृषकले प्रतिकेजी रु एक सय ७५ मा रु एक लाख ३१ हजार दुई सय ५० को दालमात्रै विक्री गरेका छन् ।
त्यस्तै साग चार सय मुठा प्रति मुठा रु ५० मा विक्री गरी रु २० हजार, मह १८ केजी प्रति केजी रु एक हजारमा विक्री गरी रु १८ हजार, गुन्द्रुक ६० मुठा प्रति मुठा रु एक सय मा विक्री गरी छ हजार, केराउ पाँच केजी प्रति केजी रु पाँच सयमा विक्री गरी रु दुई हजार पाँच सय, सिमी २० केजी प्रति केजी रु ७० मा विक्री गरी रु एक हजार चार सय, फर्सी २० केजी प्रति केजी रु ६० मा विक्री गरी रु एक हजार दुई सय र सखरखण्डा पाँच केजी प्रति केजी रु ५० मा विक्री गरी रु दुई सय ५० आम्दानी गरेका छन् ।
कृषकले विक्री गरेको सामग्रीको माग उच्च हुन थालेपछि कृषक हर्षित भएको स्थानीय कृषक लक्ष्मण गुरुङले बताए। त्यस्तै मह उत्पादक कृषक शेरबहादुर गुरुङले उत्पादित महले बजार नपाउने हो की भन्ने समस्याको अन्त्य भएको बताए।
किसानले उत्पादन गरेका सामग्री विक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। उनले भने, “गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा छिम्केश्वरीको सामग्रीको माग उच्च भएको पाएका छौ । किसानले ल्याएको सामग्री विक्री नभए हामी खरिद गरिदिन्छौ ।” यसले गर्दा कृषकलाई कृषि पेशामा लागिराख्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ ।