दमाैली । रास्वपाका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचार फाइल खोल्ने गरेपनि आफ्नो मान्छेको नाम आएपछि बन्द गर्ने गरेको टिप्पणी गरेका छन् । तनहुँको भिमाद नगरपालिकास्थित भिमाद रंगशालामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन् ।
उनले भने, “सरकारले फाइल त खोल्छ, तीन÷चार पाना पल्टाएपछि आफ्नै मान्छेको अनुहार आएपछि फाइल बन्द गर्छ ।” भ्रष्टाचारको जालो रास्वपाले तोडेरै छाड्ने सभापति लामिछानेको उद्घोष थियो । भ्रष्टाचारको अन्त्य गर्ने कदममा जनताले साथ दिएको बताउँदै उनले अब बीच बाटोमा छाड्ने अधिकार जनतालाई नभएको बताए ।
रास्वपाको प्रमुख मुद्धा भ्रष्टाचार अन्त्य गर्ने रहेको बताउँदै लामिछानेले भने, “२०८४ मा बहुमत ल्याएर भ्रष्टाचारको फाइल खोल्छौ ।” यस अभियानमा लाग्दा आफूहरुलाई मुद्धा र घेराबन्दीको डर नभएको उनको भनाइ थियो । उनले भने, “त्यो डर भएको भए आफ्नै मात्रै जीवन सम्झेर सानदार जीवन जिउन सक्थे होला ।”