राज्यको विभेदमा परेका रामलिला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    राज्यको विभेदमा परेका रामलिला

    प्रकाशचन्द्र भट्टराई

    २६ पुष २०८०, बिहीबार

    २०७६ सालको संविधान दिवसको दिन असोज ३ गते गोरखापत्र दैनिकमा राष्ट्रपतीले विभिन्न महानुभावहरुलाई विभिन्न विभुषण र पदकबाट सम्मानित गर्ने व्यक्तिहरुको सुचिमा व्यास नपा-२ निवासी दलित अधिकारकर्मी रामलिला सुवर्णकारको नाम पनि उल्लेख थियो । पदकबाट बिभुषित हुने सुचिमा आफ्नो नाम पनि देखेपछि उहाँ त्यसदिन असाध्यै खुसी हुनुभएको थियो । दमौलीको शुरेश मिष्ठान्न भन्डार तथा चिया पसलमा त्यस बिहान आउने सबैलाई उहाँले त्यस खुसीको अवसरमा चिया खुवाउनु भयो । बर्षौंदेखी जातिय विभेद बिरुद्ध आफुले गर्दै आएको संघर्षमा सरकारको नजर परेकोमा उहाँ निकै खुसी हुनुभएको थियो । त्यसअघि पदकको सिफारिस प्रक्रिया अन्तर्गत आफ्नो व्यक्तिगत विवरण सहित आफुले गरेको केही कामहरु प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयमा पठाउनुपर्ने रहेछ । त्यसकामको लागि रामलिला सरले मलाई लिएर जिल्ला प्रशासन कार्यालय तनहुँमा जानू भयो । तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पन्डितको कार्यकक्षमा प्रजिअ पन्डित, रामलिला सर र म बसेर पदकको सिफारिस प्रक्रियाको सबै काम गर्यौं । मैले नै रामलिला सरको सबै योगदानहरु आफ्नै हातले लेखेको थिएँ ।

    No description available.

    पदक पाउनेमा उहाँ अलि अलि आशावादी हुनुहुन्थ्यो । त्यसैकारण संविधान दिवसको दिन आफ्नो नाम गोरखापत्रमा आउँछ कि भनेर उहाँले मलाई गोरखापत्र दैनिक खोजेर ल्याउन अनुरोध गर्नु भयो । त्यसबेला म आफू गोरखापत्र दैनिकको दमौली संवाददाता रहेको कारण गोरखापत्र संस्थानले मेरो नाममा एकप्रति गोरखापत्र पठाउथ्यो । दमौली स्थित गन्डकी पुस्तक पसलबाट उक्त गोरखापत्र लिएर शुरेश मिष्ठान्न भन्डारमा हामी बसेर गोरखापत्र दैनिक हेरेका थियौं । त्यसमा राष्ट्रपतिबाट विभुसित हुने (पदकको नाम अहिले बिर्सिएँ) मा उहाँको नाम पनि थियो । त्यसबेला उहाँलाई पदक प्राप्तिको लागि तनहुँ क्षेत्र नम्बर १ का तत्कालीन सांसद हाल बारा-४ का सांसद आदरणीय दाजु कृष्णकुमार श्रेष्ठ किसानको महत्त्वपूर्ण योगदान पनि रहेको थियो । सो पदक लिन जाने बेलामा उहाँले मलाई तपाईं पनि जानुपर्छ है प्रकाश बाबु भन्नुहुन्थ्यो । उहाँको छोरा मनोज र म सहपाठी र हाम्रो जन्मभुमि व्यास नपा-१४ केशवटारसँगै भएको कारण उहाँले मलाई छोरा सरह व्यवहार गर्नुहुन्थ्यो । हरेक सुख दुखको बारेमा मलाई शेयर गर्नुहुन्थ्यो । उहाँलाई तनहुँ जिल्लाको मानवअधिकार निगरानी समुहको संयोजक बनाएर हामीले पछाडिबाट सहयोग गरेका थियौं । उहाँ गैरसरकारी संस्था महासंघ तनहुँको २ कार्यकाल अध्यक्ष हुँदा म एक कार्यकाल सचिव र एक कार्यकाल उपाध्यक्ष भएँ र पछि उहाँ महासंघबाट बिदा भएपछि म हालसम्म निरन्तर अध्यक्ष रहेको छु । उक्त पदकबाट बैशाख १ गते राष्ट्रपतीले बिभुषित गर्ने कार्यक्रम हुन्थ्यो । तर त्यसवर्ष कोभिडको कारण विभुषित कार्यक्रम स्थगित भयो । गृहमन्त्रालयबाट अर्को कुनै समयमा कार्यक्रम गर्ने भन्ने सुचना उहाँलाई आयो । त्यसबिचमा तत्कालीन नेकपा विभाजन भएपछि, संसद विघटन लगायतका घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले अपदस्थ गरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । अर्को वर्ष उक्त पदक बितरणको कार्यक्रम राखियो तर उहाँलाई पदक लिन आउनको लागि गृहमन्त्रालयबाट बोलावट भएन । उहाँसँगै गोरखापत्रमा नाम आएका अन्यले राष्ट्रपति विद्या भन्डारीबाट पदक लिएको फोटो सामाजिक सन्जालमा हालेपछि उहाँ आफूलाई नबोलाएकोमा निकै दुखी बन्नुभयो । त्यसैबेलाबाट उहाँलाई मानसिक आघात पर्यो । उहाँ डिप्रेसनको सिकार बन्नुभयो । उहाँले जीवनको अन्त्यसम्म पनि उक्त गोरखापत्र आफ्नो साथमा राख्नुभयो र राज्यले आफुप्रति गरेको बिभेदको बारेमा आफुलाई भेट्न आउनेहरुलाई सुनाउनुहुन्थ्यो । उहाँको उपचारको लागि छोरा मनोजले धेरै ठाउँमा लगे । अन्तत: मानसिक र शारीरिक अस्वस्थ हुँदै रामलिला सरको २०८० पुस २५ गते राती ९ बजे दुखद निधन भयो । जातीय तथा सामाजिक विभेद बिरुद्ध निरन्तर लड्नु भएका उहाँ आफै राज्यको विभेदको सिकार बन्नुभयो । हार्दिक श्रद्धाञ्जली रामलिला सर !