भाषा सिक्दै तनहुँ शुक्लागण्डकीका कुमाल समुदाय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भाषा सिक्दै तनहुँ शुक्लागण्डकीका कुमाल समुदाय

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८०, आईतवार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भएपनि भाषाको ज्ञान थिएन । यसअघि उनले कहिल्यै कुमाल भाषा सुनेकी थिइनन् ।

    “कुमाल जातिको भाषा छ भन्ने त सुनेको थिएँ, तर कस्तो हुन्छ भन्ने थाहै थिएन,” कुमालले भनिन्, “अहिले भाषा सिक्दैछु । आफ्नो भाषा जान्नुपर्ने रहेछ ।” आफ्नै भाषा, संस्कृति रितीरिवाजका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको उनकाे भनाइ छ । “हामी त अहिलेसम्म कुमाल भाषा बोलेका छैनौ, अब सिक्दैछौ, सिकेपछि जान्छौ,” उनले भनिन् ।

    सोही वडा निवासी अम्बिका कुमाललाई भने आफ्नो भाषा छ भन्ने नै थाहा थिएन । उनले भनिन् “मलाई त कुमाल जातिको भाषा छ होला र भन्ने थियो, हामी त अहिलेसम्म नेपाली भाषामै बोलिरहेका छौ । कुमालको पनि भाषा छ भन्ने थाहा पाउँदा खुसी लाग्यो ।” कुमाल भाषा सिकिरहेको बताउँदै उहाँले अब कुमाल भाषामै घरपरिवारमा कुरा गर्ने उल्लेख गरिन् ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडामा कुसमाया र अम्बिका जस्तै ६० जनाले आफ्नो भाषा सिकिरहेका छन्। यहाँका कुमाल समुदाय आफ्नो भाषा संरक्षणका लागि जुटेका छन् । भाषा, संस्कृति विस्तारै हराउँदै गएपछि सुरुमा मातृभाषा सिकाउन थालिएको छ ।

    शुक्लागण्डकीमा विभिन्न स्थानमा छरिएर रहेका कुमाल समुदाय एकै ठाउँमा जम्मा भएर भाषाको कक्षा लिइरहेका छन् । कुमाल समाज नेपाल नगर कार्यसमिति शुक्लागण्डकीको आयोजनामा शनिबारदेखि दश दिनसम्म भाषा कक्षा सञ्चालन हुनेछ ।

    भाषा संरक्षण कार्यक्रममा अभिभावक र विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी ६० जनाको सहभागिता रहेको कुमाल समाजका केन्द्रीय उपाध्यक्ष कुलकुमार कुमालले जानकारी दिए। तालिममा अर्घाखाँचीका तिलकबहादुर कुमाल र पाल्पाका उषा कुमालले भाषा सिकाइरहनुभएको छ । शुक्लागण्डकी नगरपालिकाकाले अल्पसङ्ख्यक कुमाल, भुजेल र थकाली समुदायको भाषा संरक्षणका लागि बजेट विनियोजन गरेको थियो ।

    कुमाल समुदाय देशका ७० वटा जिल्लामा बसोबास गर्छन् । विसं २०७८ को जनगणनाअनुसार देशभरमा कुमालको सङ्ख्या एक लाख २९ हजार सात सय दुई छ । तनहुँमा आठ हजार सात सय २७ जनसङ्ख्या छ भने शुक्लागण्डकीमा तीन हजार सात सय बसोबास गर्छन् ।

    शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६, ८ र १० मा कुमाल समुदायको बसोबास छ । देशभरका कुमालमध्ये करिब १२ प्रतिशतलेमात्रै आफ्नो भाषा बोल्न सक्ने कुमाल भाषाका प्रशिक्षक तिलकबहादुर कुमालले जानकारी दिए। लमजुङ, गोरखा, पाल्पा, नवलपरासीमा बस्ने कुमालहरुले आफ्नो भाषा बोल्छन् तर बसाइँ सरेर अन्यत्र गएकाहरुले बोल्न छाडेको उनकाे भनाइ छ ।

    राष्ट्र र राष्ट्रियतालाई समृद्ध बनाउन हरेक मातृ भाषाको संरक्षण, प्रबद्र्धन र विस्तार हुनु जरुरी रहेको प्रशिक्षक कुमालले बताए । उनले भने “भोलिको पुस्ताले आफ्नो मातृभाषा दैनिक व्यवहारमा प्रयोग गर्न यस्ता कार्यक्रम हरेक समुदायमा पु¥याउनैपर्छ । राज्यका तीनै तहका सरकारले स्पष्ट नीति लिएपनि कतिपय स्थानीय तहमा पाठ्यक्रम निर्माणको क्रममा कुनै जातिको बाहुल्यता भएको ठाउँमा पनि मातृ भाषामै पुस्तक तयार हुन सकेको छैन ।”

    मातृ भाषाकै विद्यालय स्थापना गरी जनशक्ति तयार गर्नुपर्ने उहाँको सुझाव छ । उनका अनुसार देवनागरीकै लिपीमा कुमाल भाषा लेखिन्छ । भारोपेली परिवारको कुमाल भाषा नेपाली र हिन्दीसँग मिल्दोजुल्दो हुन्छ । वाक्य संरचना पनि नेपाली भाषासँगै मिल्दोजुल्दो भएकाले सिक्ने इच्छाशक्ति भएमा सिक्न अप्ठ्यारो नभएको उनकाे भनाई छ ।