दमाैली । भारतको अयोध्यामा रामको मन्दिर उद्घाटन भएको खुसीयालीमा तनहुँको सदरमुकाम दमौलीमा आज साँझ दीप प्रज्ज्वलन गरिएको छ । विश्व हिन्दु महासङ्घ नेपाल तनहुँ शाखाको आयोजनामा दमौलीस्थित प्रशासनचोकमा साँझ दीप प्रज्ज्वलन गरिएको हो ।
भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामको प्राण प्रतिस्थापन भएको खुसीयालीमा सर्वसाधारणको उपस्थितिमा दीप प्रज्ज्वलन गरिएको हो ।
विश्वभरका वैदिक सनातनका अनुयायीहरुले भगवान रामको प्राण प्रतिष्ठा भएको खुसीयालीमा दीप प्रज्ज्वलन गरेकाले दमौलीमा पनि हर्षोल्लासका साथ कार्यक्रम गरिएको महासङ्घका जिल्ला अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिए।
भगवान रामको जन्मभूमिमा मस्जिद बनाएर हिन्दु धर्ममाथि आक्रमण भएको विगत स्मरण गर्दै उनले भने, “विगतमा अयोध्यामा बाबरी मस्जिद बनाएको र हिन्दु धर्ममाथि आक्रमण भएको थियो । वैदिक अनुयायीहरुले त्यहाँ रामको मन्दिर बन्नुपर्छ भनेर आन्दोलन गरे । आज रामको मन्दिरमा प्राण प्रतिष्ठाले सबैलाई खुसी तुल्याएको छ ।”
राम मन्दिर निर्माणमा क्रममा अदालतमा मुद्धा चलेपनि भगवान रामको जन्मभूमि कहाँ भन्ने विषयमा विवाद बढेपछि उत्खनन्को आदेश भएको भन्दै उनले भने, “त्यसक्रममा भगवान रामका पुराना भाडा, मूर्ति, नागका प्रतिमाहरु भेटिएपछि रामको जन्मभूमि त्यहीँ रहेको प्रमाणित भयो ।”