यु-१९ विश्वकप : नेपाल पाकिस्तानसँग पॉच विकेटले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यु-१९ विश्वकप : नेपाल पाकिस्तानसँग पॉच विकेटले पराजित

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८०, बुधबार

    काठमाडौ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार भोगेको छ। बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भयो। नेपाललाई हराएसँगै पाकिस्तान लगातार दोस्रो जितसँगै सुपर सिक्समा प्रवेश गर्न सफल भयो।

    नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो। अब समूहमा अघिल्लो चरण पुग्ने तेस्रो टिमको टुंगो नेपाल र अफगानिस्तानबिच शुक्रबार हुने खेलले तय गर्ने छ। उक्त खेलमा विजयी हुने टोली सुपर सिक्समा पुग्ने तेस्रो टोली बन्ने छ।

    दक्षिण अफ्रिका स्थित इस्ट लन्डनको बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले १४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गरेको थियो।

    पाकिस्तानका लागि अजन अवाइसले ६३ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा ओपनरहरु श्यामल हुसेइन र साजाइब खानले समान ३७-३७ रन बनाएका थिए। त्यस्तै अहमद हसइनले २९ रन बनाए। त्यस्तै हरोन अर्सादले १५ रनको इनिङ खलेका थिए। नेपालका लागि आकाश चन्दले ३ विकेट लिंदा दिपेश कँडेल र आकाश त्रिपाठीले समान १-१ विकेट लिएका थिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर विपिन रावतले सर्वाधिक ३९ रन बनाउँदा कप्तान देव खनाल २३ रनमा आउट भए। त्यस्तै दिपक डुम्रे २६ रनमा आउट हुँदा दिपेश कँडेलले १३ रन बनाए। त्यस्तै सुवाष भण्डारी २० रनमा आउट हुँदा आकाश चन्द १६ रनमा अविजित रहे।

    पाकिस्तानका लागि अरफात मिनहासले सर्वाधिक ३ विकेट लिंदा अहमेद हुसेन र उवाद साहले २–२ विकेट लिए। त्यस्तै मोहम्मद जेसन र अली अस्फान्दले समान १-१ विकेट लिएका थिए। नेपाल यू-१९ विश्वकपमा लगातार दोस्रो पटक पाकिस्तान सँग पराजित भयो। नेपालले २००२ मा पाकिस्तानलाई पराजित गर्दै सनसनि मच्चाएको थियो।