अहिले नेपाली समाज चरम सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेछ । कतिपय परम्परागत सामाजिक, आर्थिक सम्बन्धहरू भत्कँदै नयाँ नयाँ सम्बन्धहरू विकसित हुँदैछन् । लामो समय रजगज गरेर बसेको सामन्तवादका कतिपय अवशेषहरू बाँकी रहे पनि अब हाम्रो समाज मूलत: पूँजीवादी चरणमा प्रवेश गरेको छ । तर हाम्रो दुर्भाग्य यो अवस्थामा राष्ट्रिय पूँजीको विकास गरी हामीले आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन सकिरहेका छैनौँ । हामीलाई दलाल पूँजीवादले पूरै गाँजेको छ । दलाल पूँजीको वर्चश्वका कारण हाम्रो अर्थतन्त्र डामाडोलको स्थितिमा पुगेको छ । यसर्थ अहिले दलाल पूँजीवादसँगको नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोध बन्न पुगेको छ । यो परिस्थितिमा दलाल पूँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गरी समाजवादको यात्रामा अघि बढ्नु नै हाम्रो मुख्य कार्यदिशा बन्नु पर्दछ । बदलिँदो सामाजिक, आर्थिक परिवेशमा नेपालको कम्युनिष्ट आन्दोलन सामु गम्भीर चुनौतीहरू खडा भएका छन् । एकातिर प्राविधिक रुपमा यो टुटफुटको चक्रबाट आक्रान्त छ भने अर्कोतर्फ वैचारिक रुपमा अन्यौलग्रस्त बनिरहेछ । यद्यपि नेपालका कम्युनिष्ट पार्टीहरूले आँफूलाई मार्क्सवाद, लेनिनवादको पक्षपाती बताउँदै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य रहेको कुरा गर्दै आएका छन् । तर उनीहरूले अँगालेको कार्यशैली र कार्यदिशालाई नियाल्दा सही दिशामा अघि बढिरहेछन् भनी ढुक्क हुने अवस्था देखिँदैन । अधिकांश पार्टीहरूको शीर्ष नेतृत्व दलाल, भ्रष्ट, कमिसनखोर साथै नोकरशाहहरूको घेराबन्दीमा रहेको देखिन्छ भने त्यस्तै नेता / कार्यकर्ताहरू पनि आत्मकेन्द्रित सोचबाट ग्रसित भएको पाइन्छ । मूल नेतृत्वमा “म नै पार्टी हुँ” भन्ने सामन्तवादी चिन्तनले जरा गाडेको देखिन्छ भने अधिकांश कार्यकर्ताहरूमा मूल नेतृत्वको चाकरी गरेर अवसर प्राप्त गर्ने लालसा मात्र पाइन्छ । अर्थात नेतृत्वमा आलोचना सुन्नै नसक्ने प्रवृत्ति अनि कार्यकर्ताहरूमा आलोचनात्मक चेत हराउँदै गएको छ । कमिटी प्रणालीको विषय दस्तावेजमा मात्र सीमित बन्न पुगेको छ । यो परिस्थितिको गम्भीरतालाई आत्मसात गर्दै समयमा नै आँफूलाई सही दिशाबाट अघि बढाउने कुरामा तत्परता देखाउन नसक्ने हो भने नेपालको कम्युनिष्ट आन्दोलन साथै देश र जनताको भविष्य अन्धकारपूर्ण हुने कुरामा अब कुनै शङ्का बाँकी रहेन । विगततर्फ फर्केर हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन विशेष गर्व गर्न लायक देखिन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपालका कम्युनिष्टहरूले उच्च त्याग र बलिदानको कीर्तिमान नै कायम गरेका छन् । राणाशासन, राजतन्त्र र पञ्चायती निरङ्कुशताका विरुद्ध अनि राष्ट्रियताका पक्षमा नेपालका कम्युनिष्टहरू युद्ध मोर्चाको अग्रपङ्क्तिमा रहेर लडेको गौरवपूर्ण इतिहास साक्षी छ ।
हामीले इमानदार भएर के कुरा स्वीकार्नु पर्छ भने देशको व्यवस्था परिवर्तनमा नेपालको कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेताहरू (जो सबैजसो हाल दिवङ्गत भइसक्नु भएको छ) साथै दोस्रो, तेस्रो पुस्ताका नेताहरू (जो हाल विभिन्न कम्युनिष्ट पार्टीहरुको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ) को महत्वपूर्ण र निर्णायक भूमिका रहेको थियो । यसका लागि उहाँहरू सम्मानयोग्य हुनुहुन्छ । साथै इतिहासले लोकतान्त्रिक आन्दोलनमा उहाँहरूले पुर्याउनु भएको योगदानलाई युग युगसम्म जीवन्त राखिरहनेछ । तर दुर्भाग्यको कुरा, व्यवस्था परिवर्तनमा अब्बल सावित हाम्रो नेतृत्व देश र जनताको अवस्था परिवर्तनमा खरो उत्रिन सकेन । यो कहीँ कतै गोलचक्करमा फस्न पुग्यो । अहिलेको समयको माग र आवश्यकता अनुरुप यसले आँफूलाई रूपान्तरित गर्न सकिरहेको पाइँदैन । हो, कुनै पनि राजनीतिक दलको उद्देश्य सत्ता प्राप्त गर्नु नै हो । सत्ता प्राप्तिपछि के कसरी अगाडि बढ्ने स्पष्ट मार्गको पहिचान वा देश र जनताको हितमा अधिक भन्दा अधिक काम गर्ने विषय प्राथमिकतामा पर्नु नितान्त आवश्यक हुन्छ । तर नेपालका कम्युनिष्ट पार्टीहरूको ध्यान मात्र सत्ता प्राप्तिमा केन्द्रित रहेको देखिन्छ । अर्थात नेपालका कम्युनिष्टहरूमा सत्तालाई मात्र साधन नमानेर यसलाई नै साध्यको रुपमा बुझ्ने गम्भीर वैचारिक विचलन देखिने गरेको छ ।
लोकतान्त्रिक व्यवस्थाको स्थापना पछि सदाजसो कुनै न कुनै नाममा वा रुपमा नेपालका कम्युनिष्टहरू सत्ताको केन्द्र भाग ‘सरकार’मा जोडिएकै छन् । तर दुःखको कुरा कम्युनिष्टहरूले सत्ताको हालीमुहाली चलाउँदा पनि जनताका पक्षमा नीति, कार्यक्रम बन्न सकिरहेका छैनन् । राज्यको तर्फबाट जनतालाई अनुभूत हुने गरी काम हुन सकिरहेको पाइँदैन । अर्थात फेरिएको परिस्थिति अनि भूमिका अनुसार आफ्ना नीति,कार्यक्रम तय गर्न सकिरहेका छैनन् । जसका कारण विस्तारै नेपालका कम्युनिष्ट पार्टी र जनता बीचको दुरी बढ्दै जाने अवस्था सिर्जना हुँदैछ । अहिले, सुशासन नेपाली जनताको मुख्य चाहना हो । समाजका हरेक क्षेत्रमा जरा गाड्दै गरेको भ्रष्टाचारी प्रवृत्ति अझ राज्य संयन्त्रका स्थानीय तहदेखि केन्द्रसम्म व्याप्त घुसखोरीले जनतामा आक्रोशको मात्रा बढ्दै भएको अवस्था छ । सरकारी कार्यालयहरूबाट सेवा प्रवाहमा हुने ढिलासुस्तिले जनता आजित छन् । महङ्गी तथा कालो बजारीका कारण जनता उठ्नै नसक्ने गरी थिचिएका छन् । राज्य संयन्त्र, जनप्रतिनिधि अनि राजनीतिक र सामाजिक अगुवाहरूका अपारदर्शी काम साथै जीवनशैलीबाट जनतामा भित्र भित्रै विद्रोहको भावना पैदा हुँदैछ । यता आम जनताको जीवन कष्टपूर्ण भन्दा कष्टपूर्ण बन्दैछ भने उता विचौलिया, काला बजारी, भ्रष्ट, कमिसनखोर, डन प्रवृत्ति अनि दलाल पूँजीपतीहरूका लागि यहीँ स्वर्गीय आनन्दको अवस्था छ । विषयको यही गम्भीरतालाई आत्मसात गर्दै नेपालका खका बीचमा छौँ । यो अवस्थालाई हामीले वरदानका रुपमा उपयोग गर्न सक्नुपदर्छ । विश्वका सबै मुलुक अझ दुबै छिमेकीसँग हार्दिक अनि समदूरीको सम्बन्ध हाम्रो परराष्ट्र नीतिको केन्द्रमा हुनु नितान्त आवश्यक छ । आर्थिक कुटनीतिका माध्यमबाट दुबै छिमेकमा हाम्रा उत्पादनहरू सहज प्रवेशको परिस्थिति निर्माणमा ध्यान दिनु पदर्छ । यसो हुँदा हामीलाई जति धेरै उत्पादनमा पनि बजारको समस्या रहँदैन । हामीले अरु कुनै चमत्कारका कुरै नगरी मूलत: यी अनि समय र परिस्थितिअनुसार सिर्जना हुने नयाँ विषयहरूलाई सम्बोधन गर्दै अघि बढ्न सक्दा मात्र पनि नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्ज्वल हुनेछ ।