काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरा सम्भव नभएको बताएका छन्।
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा मुछिएको भन्दै समग्र सहकारी हिनामिनाको छानबिन गर्न प्रतिनिधिसभामा संसदीय छानबिन समितिको माग गरेका वेला प्रमुख सत्तासाझेदार दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका हुन्।
कांग्रेसको मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान एमाले अध्यक्ष ओलीसँग सल्लाह गरेर अगाडि बढ्ने बताएका थिए। धनगढीबाट काठमाडौं आएर दिउँसो संसद् भवन आइपुगेका ओलीले कांग्रेसको माग सम्भव नभएको बताएका हुन्।
कांग्रेसले छानबिन समिति माग गरेको छ नि भन्ने प्रश्नमा ओलीले संसद् भवनपरिसरमा सञ्चारकर्मीसँग भने, ‘कसरी, केका लागि बन्ने ? त्यो सम्भव नै छैन। त्यो सम्भव छैन।’