काठमाडौ । आगामी चैत २३ देखि शुरू हुने ‘चौथो मन्जुश्री ट्रेल रेस’ को तयारी अन्तिम चरणमा पुगेको छ । रेस आयोजक मन्जुश्री ट्रेल रेसले मंगलबार पत्रकार सम्मेलन गर्दै रेसको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा रेसका अध्यक्ष सुवाश थापाले विगतमा जस्तै मञ्जुश्री ट्रेल रेसको नयाँ संस्करण आयोजना हुन गइरहेको बताए । यस संस्करणको रेसका लागि नेपाल सहित १६ मुलुकका २ सय ७० धावकहरूले आफ्नो नाम दर्ता गराइसकेको उनले जानकारी दिए । जसमध्ये नेपालबाट मात्रै २ सय ३२ धावकले नाम दर्ता गराएका छन् ।
एसिया ट्रेल मास्टर्स जस्ता विदेशी निकायहरूमार्फत थप ५० देखि १०० जना खेलाडी सहभागी हुने उनको भनाइ छ । उनले भने,’दर्ता मिति अप्रिल १ सम्मका लागि छ । सो समयसम्ममा अझै धेरै धावकहरू सहभागी हुने सम्भावना देखिन्छ ।’
यो संस्करणलाई एसिया ट्रेल मास्टर्ससँगको सम्झौता भए पश्चात यसको छनोट खेलका रुपमा समेत मान्यता प्राप्त भएको अध्यक्ष थापा बताउँछन् ।
एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्ट मार्फत सबै बर्गका धावकहरूलाई समान अवसर दिइन्छ ।
आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन “एटिएम फाइनल” संगै समाप्त हुन्छ जसमा अन्तिम विजेतालाई सम्मानित गरिन्छ । स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।
सन् २०२३ मा सञ्चालन गरिएको तेस्रो मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगीले भाग लिएका थिए ।
मञ्जुश्री ट्रेल रेस भने सबैभन्दा लामो दौडका रुपमा काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दुरी पुरा गर्दा १२ हजार ६९५ मिटरको उचाई समेत हासिल हुनेछ ।
पौराणिक कथन अनुशार मञ्जुश्री नामक भिक्षुले काठमाडौंमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन, विभिन्न डाँडा घुमेर हेरेको थिए र यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो। सेतो र पहेलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङ समेत हुने गरेको छ ।
धावकहरू भने जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन् । लगभग ७० प्रतिशत दौड वन-जंगल र गोरेटो बाटोमा हुनेछ । अप्रिल ५ अर्थात चैत २३ गते बिहान ८ बजे इचंगुनारायण स्थित एक्ले रुख (सिंगल ट्री)बाट सय माइलको दौड सुरू हुनेछ ।
यस्तै सोही दिन राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट, चैत २४ गते बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस चैत २४ गते बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुँदैछ ।
यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा १०० जना धावक सहभागी हुँदैछन् । त्यसैगरी चैत २४ गते कालुपाण्डे डाँडाबाट १० किमिको रेस सुरू भइ एक्लो रुख (सिंगल ट्री)मै सकिने उनले बताए ।
अध्यक्ष थापाका अनुसार सामाजिक कर्तब्य बहन गरेर तथा रेसलाई अझ समावेशी बनाउन अप्रिल ६ मा २ किलोमिटरको विशेष रेस समेत आयोजना हुँदै छ । जसमा भिन्न रुपले सबल बाल-बालिकाहरूको रेस पनि आयोजना हुनेछ । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो । यसमा २० खेलाडी सहभागी हुँदैछन् ।
यो जम्मा १०० माइल लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको हुन्छ जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि ब्यवस्था गरिएको हुन्छ ।
त्यस्तै तीन स्थानमा केही समय आराम गर्नको निम्ति बासस्थानको पनि ब्यवस्था गरिएको छ । ईमर्जेन्सी अवस्थालाई मध्यनजर राखि सबै चेक प्वाईन्टहरूमा आधारभूत तालिम प्राप्त मेडिकल टिम राखिनुको साथै एम्वुलेन्स तथा अस्पतालहरूसँग पनि समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रूट छिचोले ।
जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए । पछिल्लो समयमा ट्रेलमाण्डु र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै यो ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जि.पि.यस नस्सांकन गरिएको अध्यक्ष थापाले जानकारी दिए । विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्ण रूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।
ट्रेलको रुट नक्साङ्कन गर्नेमध्येका एक धावक नारायण आचार्यले यस किसिमको साहसिक दौडले मेडिटेसनको समेत आभास दिने बताए । उनले आफूहरूले सन् २०१२ मै यसकिसिमको लामो दौड आवश्यक भएको महशुस गरेको बताए । उनले भने,’सन् २०१२ आसपासमा दौडहरू हुने गरेको भएपनि यति लामो थिएन । पछि मात्रै यस किसिमको दौड गर्न थालिएको हो ।’
उनले लामो दौडको प्रयास स्वरुप नै अहिले १०० माइलको मञ्जुश्री ट्रेल रेस रहेको उनले बताए ।
उनले यस रेसका क्रममा धावकहरूले विभिन्न संस्कृतिहरूलाई नियाल्न पाइने समेत बताए । उनले भने,’विभिन्न जिल्लालाई छोएको,तामाङ, नेवारी, पहाडी वस्ती हुँदै विभिन्न संस्कृति नियाल्दै प्रकृतिसँग सामिप्य हुने दौड हो यो ।’ उनले यस रेसमा सहभागी भएकाहरूले विदेशमा रेसमा पनि राम्रो स्कोर पाइरहेको सुनाए ।
फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन् ।
उनले भने,’आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरएमा सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।’
अध्यक्ष थापाका अनुसार, १ सय ७० किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।
५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।
साथै यस संस्करणमा थपिएको नयाँ बिशेष आयाम तथा खेलाडिहरूको लागी प्रोत्साहन मञ्जुश्री ट्रेल रेसका १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडीले स्वत एसिया ट्रेल मास्टर्समा क्वालिफाइ हुनेछन् । यसमा केही खेलाडी सहभागी हुने राम्रो सम्भावना र अवसर पनि रहेको उनी बताउँछन् ।
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत हालै गठन भएको नेपाल एडभेञ्चर रनिङ महासंघबाट पनि यो रेसलाई विशेष रुपमा हेरिएको तथा सहयोग प्राप्त भएको उनले जानकारी दिए ।