महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८०, सोमबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा रहेको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध गरी उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको हो ।   
      
    सहकारीले शेयर सदस्यलाई स्वरोजगार र उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष सुशीला गुरुङले बताइन् । सहकारीका सदस्यलाई अकबरे खुर्सानी, मौसमी तथा बेमौसमी तरकारीखेती, पशुपालन, कुखुरापालन, बेसार तथा अदुवाखेती, सिलाइबुनाईलगायत तालिम सञ्चालन गरी स्वरोजगार बनाउँदै आइएको उनले जानकारी दिइन् ।   
      
    गुरुङले सहकारी संस्थाको ३४ वटा इकाइका सदस्यलाई तालिम सञ्चालन गरिएको बताइन् । उनले भनिन्, “सदस्यहरूले उत्पादन गरेको कृषि उपज सामग्री बजारीकरणका लागि सहकारी संस्थाले सहयोग गरिरहेको छ ।”   
      
    शुक्लागण्डकी नगरपालिका–२ का सदस्यलाई बाख्रापालन व्यवसाय विकास गर्न दुईवटा उन्नत जातका बोका अनुदानको रूपमा सहयोग गरेको छ । सहकारीले अकबरे खुर्सानी विकास गर्नका लागि वडा नं ६ का सदस्यलाई बीउ वितरण गरेको छ भने कालीभञ्ज्याङ क्षेत्रमा नेट जाली, प्लाष्टिक टनेललगायत सामग्री प्रदान गरेको छ ।   
      
    संस्थाले सदस्यको उद्यमशीलता वृद्धि गर्नका लागि वडा नं २ मा बेसार उत्पादनसम्बन्धी तालिम प्रदान गरी बीउ वितरण गरेको अध्यक्ष गुरुङले बताइन् । उनका अनुसार एक सय २० जना शेयर सदस्यलाई खाना पकाउने विद्युतीय चुलो समेत प्रदान गरिएको छ ।   
      
    विसं २०५९ जेठ ७ गते स्थापना भएको सहकारी संस्थामा हाल दुई हजार सात शेयर सदस्य आबद्ध छन् । सहकारी संस्थामा रु चार करोड ३२ लाख ६४ हजार शेयर पुँजी रहेको छ । बचत रु १८ करोड ५० लाख ३२ हजार एक सय ७१ रहेको सहकारीमा जगेडा कोष रु एक करोड १३ लाख ६९ हजार रहेको सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी श्रेष्ठले जानकारी दिइने । उनका अनुसार संस्थाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।   
      
    रु ५० लाखमा जग्गा खरिद गरी भवन निर्माण गरेको श्रेष्ठको भनाइ छ । उनका अनुसार हाल संस्थामा पाँच जना कर्मचारी छन् । सहकारीले चालु आर्थिक वर्षमा तीन हजार दुई सय शेयर सदस्य वृद्धि गर्ने तथा शुक्लागण्डकी नगरपालिकासँग समन्वय गरी सदस्यले उत्पादन गरेका कृषि सामग्री बिक्रीका लागि हाटबजार सञ्चालन गर्ने योजना बनाएको छ ।