पाेखरा । शिक्षा राष्ट्र निर्माणको मूल आधार हो । शिक्षालाई समृद्ध नगर निर्माण गर्ने मेरुदण्डका रुपमा लिइन्छ । सचेत नागरिक, सभ्य समाज विकसित नगर बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । नगरभित्र रहेका सबै बालबालिकालाई समानताको आधारमा शिक्षाको अवसर दिइनुपर्छ । बालबालिकामा रहेका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन शिक्षा अनिवार्य हुन्छ ।
अभिभावकहरुमा आफ्ना बालबालिकाहरुलाई घरबाटै संस्कारसहितको शिक्षा प्रदान गर्न अभिभावकीय जिम्मेवारी बोध गराउने उद्देश्यले चितवनको खैरहनी नगरपालिका वडा नं ८ को आयोजना र साभ नेपालको सहजीकरणमा मिति शुक्रबार शनिबार दुई दिवसीय अभिभावक सचेतना कार्यक्रम खैरहनीमा सम्पन्न भएकाे छ ।
कार्यक्रम खैरहनी नगरपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष श्याम पाठकको अध्यक्षतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा नगरप्रमुख शशी कुमार खनियाको प्रमुख आतिथ्य रहेको थियो भने शिक्षा शाखा प्रमुख राजु बानियाले स्वागत मन्तव्य राखेका थिए।
प्रमुख अतिथि नगरप्रमुखले बालबालिकामा देशको भविश्य रहेकाले सोही अनुसारका बालबालिकाको क्षमता विकास गर्नका निमित्त अभिभावक नै बढी जिम्मेवार रहने र संस्कारसहितको बालक विद्यालय प्रवेशसँगै उचित शैक्षिक वातावरणले मात्र असल नागरिक उत्पादन हुने हुँदा अभिभावकीय शिक्षा अति आवश्यक भएको कुरा बताए।
शिक्षा शाखा प्रमुख राजु बानियाले बालकले पहिलो शिक्षा घरबाटै प्राप्त गर्ने हुनाले अभिभावक शिक्षा अपरिहार्य रहेको कुरा बताउँदै उपस्थित सबैलाई स्वागत गरे । कार्यक्रम सञ्चालनका क्रममा शिक्षा अधिकृत रविन देवकोटाले अभिभावकीय शिक्षा महत्वपूर्ण रहेको बताए ।
कार्यक्रमका मुख्य प्रशिक्षक साभ नेपालका अध्यक्ष डा. तुलसीराम खनालले बालबालिका बाबुआमाका लागि सर्वश्व हुन् र तिनीहरुलाई असल संस्कार दिने पहिलो जिम्मेवारी अभिभावकहरुकै हो भन्ने विषयवस्तु प्रस्तुत गर्दै अभिभावकहरुलाई मनोरञ्जनात्मक शैलीमा जिम्मेवारी बोध गराउने प्रयत्न गरे।
अभिभावकलाई आफ्ना सन्तानप्रति जिम्मेवारी बोध गराउँदै प्रशिक्षक स्वस्तिका तिवारीले अभिभावकलाई सहजीकरण गरेकी थिइन् ।
कार्यक्रमको दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका अभिभावकहरुलाई प्रशिक्षण दिने काम भयो । यस दिन प्रमुख प्रशिक्षक डा.तुलसीराम खनालले अभिभावकलाई अभिभावकीय जिम्मेवारी बोध गराउँदै असल अभिभावक बन्न उत्प्रेरणा प्रदान गरे।
उनले भने, ‘बालबालिकाको पहिलो पाठशाला घर हो भने बाबुआमा पहिलो गुरु हुन् । घरबाट जस्तो शिक्षा र संस्कार लिएर बालक हुर्कन्छ त्यसको प्रत्यक्ष प्रभाव दीर्घकालीन समयसम्म रहिरहन्छ । आजको परिवेशमा परिवर्तन र संभावनासँगै बालबालिकालाई उचित सिकाइ वातावरण घरबाटै सुरु गर्न जरुरी देखिन्छ । बदलिँदो परिवेशसँगै जव बालक घरबाट विद्यालय प्रवेश गर्दछ तव उसले नयाँ अनुभव बटुल्न थाल्दछ । अभिभावक बालक र शिक्षक त्रिपक्षीय सम्बन्धको वातावरणले उसको भविश्यको मार्ग निर्देशन गर्दछ । बालक संस्कार र संघर्षले आफ्नो भविश्य बनाउने हुनाले असल व्यवहार सिकाइमा सहयोग गर्न बाबाआमाबाट राम्रो वातावरण दिनुपर्छ ।’