कतारका राजालाई राष्ट्रपति पौडेलले विमानस्थलमै स्वागत गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कतारका राजालाई राष्ट्रपति पौडेलले विमानस्थलमै स्वागत गर्ने

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८१, सोमबार

    काठमाडौ । कतारका अमिर (राजा)  शेख तमिम बिन हमाद अल थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं आउने भएका छन् । उनी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन् । कतारी अमिरको नेपाल भ्रमणलाई सफल पार्न सरकारी संयन्त्रहरू आवश्यक तयारीमा जुटेका छन् । कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

    पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएका छन् ।कतारबाट पहिलोपटक उच्चस्तरीय भ्रमण हुन लागे पनि नेपालबाट भने पटकपटक उच्चस्तरीय भ्रमण भएका छन् ।

    सबैभन्दा पहिला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले १९९८ मा कतारको भ्रमण गरेका थिए । त्यसपछि २००५ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले कतारको भ्रमण गरेका थिए भने राष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कतारको भ्रमण गरेकी थिइन् । अमिरको भ्रमणका अवसरमा गरिने सम्झौता तथा समझदारीका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले कतारसँग गरिने सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षरबारे तयारी भइरहेको जानकारी दिए । उनले  भने, ‘तीन चारवटा विषयमा सम्झौता गर्ने तयारी भएको छ ।’ उनले नेपालले खेलकुद, श्रम, आर्थिक लगानीलगायतका विषयमा कुरा राख्ने तयारी गरेको बताए । 

    राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बेलुका रात्रिभोजको आयोजना गर्नेछन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिरबीच द्विपक्षीय वार्ता हुनेछ । सो वार्ताका क्रममा केही सम्झौता तथा समझादारीपत्रमा हस्ताक्षर हुनसक्ने जनाइएको छ । (शिलापत्रबाट)