पोखरा । निर्माणाधीन मुग्लिन पोखरा सडक विस्तार परियोजनाको पोखरा खण्डमा कालोपत्रको तयारी गरिएको छ । पछिल्लो समय तीव्रताका साथ काम भइरहेको यस खण्डमा अव एक दुई दिनमा कालोपत्र सुरु गर्ने परियोजनाले जनाएको हो ।
कालोपत्रका लागि तयारी गरिएको चाउथे क्षेत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन समेत गरेका छन् । सो क्रममा सडक निर्माणसँगै आवागमनमा बाधा नपर्ने गरी सहज आवतजावतको व्यवस्थापन गर्न निर्माण पक्षलाई निर्देशन गरेका छन् ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याका कारण नागरिकहरूलाई सास्ती भएको भन्दै यसको उचित व्यवस्थापन गर्न उनले निर्देशन दिए। सडक निर्माण कार्यमा सहजताका लागि पोखरा महानगरपालिकाले परियोजना सँग निरन्तर समन्वय गरिरहेको छ ।