


काठमाडौ । बारा-४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले पहिला आम नागरिकले विजुली बाल्न पाउनुपर्ने त्यसपछि मात्रै बेच्नेतर्फ लाग्न आग्रह गरेका छन् । बिहीबारको संसद बैठकमा बोल्दै सांसद श्रेष्ठले नेपालका धेरै ठाउँमा विजुली नबलेकाले सबैभन्दा पहिले आम नागरिकले विजुली बाल्न पाउनुपर्ने धारणा राख ।
उनले भने, ‘नेपालको विजुली निर्यात हुँदैछ भन्दा धेरै खुसी थिएँ । यसका लागि मन्त्री ज्यू र कार्यकारी निर्देशक ज्यूलाई धन्यवाद दिन चाहन्छु । तर, बिडम्बना नेपालका धेरै ठाउँमा विजुली बल्दैन १० घण्टादेखि १२ घण्टा लोडसेडिङ हुन्छ । अझै औद्योगिक क्षेत्रको हालत त्यस्तै छ । उदाहरणका रुपमा पथलैयादेखि वीरगञ्जसम्म औद्योगिक क्षेत्र १० घण्टासम्मको लोडसेडिङले गर्दा तहसनहस भएका छन् । त्यसैले औद्योगिक क्षेत्रलगायत आम नेपाली जनताले विजुली बाल्न पाउनुपर्यो त्यसपछि विजुली बेच्नतर्फ लाग्नका लागि म उर्जा जलस्रोत तथा सिँचाई मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’