तनहुँलाई हराउँदै गण्डकी प्रदेशस्तरीय फुटबलकाे उपाधि कास्कीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँलाई हराउँदै गण्डकी प्रदेशस्तरीय फुटबलकाे उपाधि कास्कीलाई

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८१, सोमबार

    पाेखरा । गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कास्कीले नगद रु दुई लाख जितेको छ भने उपविजेता तनहुँले नगद रु एक लाख प्राप्त गरेकाे छ ।

    निर्धारित समयमा दुबै टिम गोल गर्न असफल बने पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो । 

    यता तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिंदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले बचाउ गरेका थिए । यस अघि निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुबै टिम गोल गर्न असफल रहेका थिए ।

    प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तनहुँका शन्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात पारे । त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए । 

    उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले बताए ।