गण्डकी प्रदेशस्तरीय ह्यान्डबलः कास्की र तनहुँ च्याम्पियन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशस्तरीय ह्यान्डबलः कास्की र तनहुँ च्याम्पियन

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८१, आईतवार

    पोखरा । गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि जितेका हुन् ।

    महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङ्जालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो । साथै पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

    उपाधिसँगै कास्की र तनहुँले समान रु ५०–५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता स्याङ्जा र कास्कीले समान रु ३०÷३० हजार प्राप्त गरेका छन् । तेस्रो भएका बागलुङ र स्याङ्जाले रु १५÷१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

    महिलातर्फ कास्कीकी कोमल खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ तनहुँका आकाश अधिकारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुवैले समान रु पाँच÷पाँच हजारको साथमा ट्रफी प्राप्त गरे । महिलातर्फ उत्कृष्ट गोलरक्षक कास्कीकी अमिसा गुरुङ र उच्च गोलकर्ता कास्कीकै आकृति गुरुङ घोषित भइन् ।

    आकृतिले प्रतियोगितामा नौ गोल गरेकी थिइन् । पुरुषतर्फ कास्कीका केविन गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । वासु गुरुङ २६ गोल गर्दै उच्च गोलकर्ता घोषित भए । विधागत उत्कृष्ट भएका उनीहरुले दुई हजार पाँच सयका साथमा ट्रफी प्राप्त गरे । तीन दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ आठ र महिला तर्फ छ जिल्लाको सहभागिता रहेको थियो ।

    पुरुषतर्फ कास्की, गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, नवलपुर, स्याङ्जा र पर्वतको सहभागिता रहेको थियो भने महिलातर्फ बागलुङ, म्याग्दी, पर्वत, कास्की, नवलपुर र स्याङ्जाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।