विषय प्रवेश
बाइसे चौबिसे कालमा मानहुँकोट कहिले कास्कीकोट , कहिले गलेखामकोट र कहिले तनहुँ राज्यको दक्षिणी सुरक्षा कवचको रुपमा रहेको थियो । तत्कालीन समयमा छिमेकी राज्यहरु लमजुङ, गोरखा, कास्की , ढोर, घिरिङ, तनहुँ र ऋषिङ बाट हुनसक्ने आक्रमणबाट बच्न र बचाउन विभिन्न ठाउँहरुमा कोट तथा गढीहरु निर्माण गरिएका हुन्थे । त्यही मध्येको एउटा कोट मानहुँकोट पनि हो । कास्की, तनहुँ र ऋषिङको आक्रमणबाट मानहुँकोट किल्ला, गलेखामकोट राज्यको बरदान सावित भएको थियो । मानहुँकोटको उत्तरी पूर्वी भेग र दक्षिणी भेगमा सुन्दर गुफाहरु रहेका छन् । त्यही गुफामा मनु, महाहनु जस्ता ऋषि महर्षिहरुले तपस्या गरेको भूमि हो । ऋषि महर्षिको तपोभूमि रहेको यस स्थानमा यहाँका मगरहरुले मानहुँकोटलाई कुनै बेला गलेखामकोट र कुनै बेला तनहुँ राज्यको सुरक्षा कवच बनाएका थिए । बाइसी चौविसी कालमा ३६ थरका खस, ३० थरका मगर ( १२ मगरात र १८ मगरात) चारजाते र सोह्रजाते गुरुङ, दशथरे लिम्बु, आठथरे राई सोह्रथरे खुम्बु र २७ थरे ब्राह्मण लगायतका जातजातिहरुले बसोबास गरेका थिए । सिञ्जा साम्रज्यमा मल्लहरुको शासन कायम रहेको बखतमा राजाहरु राजा शब्दको सट्टामा राइ शब्द प्रयोग गर्दथे । इतिहास केलाउँदा कुनै बेला कास्की राज्यको सिमाना मादी नदीको किनार सम्म पुग्दा मानहुँकोट कास्कीको सरहदभित्र पुगेको थियो । कास्कीको दुरदराजमा रहेको मानहुँकोटको साइनो कास्की राज्यको अर्घौ मौजासँग गाँसिएको पाउँदछौं ।
सिञ्जा साम्राज्यको पतनका साथ साथै बाइसी चौबिसी राज्यहरुको उदय
वि.सं.१४६३ मा सिञ्जा साम्राज्यको पतन भए पछि अभयमल्ल सिञ्जाबाट पूवान्मुख हुँदै रिडीमा आएका थिए । सम्भवत वि.सं. १४७५ देखि १४९५ को बीचमा अभय मल्ल कार्कीकोटे राजाको छोरी संग विवाह गरे पछि रिडि बाट खिलुङ हुँदै ओइघा लसर्घा पूग्न सहज भयो । त्यही उनले आफ्नो बस्ती बसाले । वि.सं. १५०० मा उनै अभय मल्ल ( जयन्तखान )का छोरा सूर्यखानले भीरकोट राज्यको स्थापना गरेका हुन् । तथापि नेपालीपन मेटाएर भारतको भारतको उज्जैन छाडी भूपाल (पृथ्वीपाल) रिडी आएका हुन भन्ने पनि शाह र थामे—अधिकारीका वंशावलीमा पाइन्छ) । वि.सं.१५१० मा सूर्यखानका छोरा खाञ्चा खानले भीरकोट र मिञ्चाखानले नुवाकोट राज्यको स्थापना गर्न पुगे । “नेपालका शाह राजाहरुको थर खाण हो । खाणको अर्थ खान या मुसालमानी थर भएको अनुमान गरेको भएपनि मिल्दो जुल्दो छैन ।.हुन त खान वा खाण थर मगरहरुको आफ्नै मौलिक शब्द हो । नेपाालको मगर समाजमा इशापूर्व काल देखि नै खनखवास भन्ने गरिन्थ्यो । मगरहरुमा मुखिया र सेवक कोहुन भनी चिन्हका लागि पनि खनखावस शब्दको प्रयोग हुने गर्दथ्यो (श्रोत –स्याङ्जा स्थित चौबिसी राज्यहरुको इतिहास –राजाराम सुबेदी– प्राचीन नेपाल–१५२) । नुवाकोटका राजा मिञ्चा खानका तीन छोराहरु मध्ये जेठा भक्तिखान पैतृक राजथलो नुवाकोटमा राजा भए भने शिरबुम्ब खानले सतहुँ र विचित्र खानले कास्की राज्यको स्थापना गरेका थिए् । विचित्र खानले आफ्नैबलबुताले ७०० घर धुरीको कास्की राज्यको स्थापना गरेका हुन् । यसभन्दा कास्की पहिला पर्वतका राजा नारायण मल्लको कान्छा छोरा कल्याण मल्लको अंश भागमा परेको थियो । कल्याण मल्लको राज्य अपुताली परेकाले राजबमका छोरा पठाइएका थिए तर यिनी पनि असमयमा नै मरे । (श्रोत – पर्वतको इतिहास (मोहनबहादुर मल्ल ) तिनै मल्ल राजाहरुको नियन्त्रणमा रहेको राज्यलाई विचित्र खानले आफ्नो बनाएका हुन् । विचित्र खानपछि उनकाछोरा नरराज खान कास्कीको राजा हुन पुगे । नरराज खान पश्चात नीजका छोरा जगति खान (कुलमण्डन शाह ) कास्कीका राजा बने पछि जगति खान (कुलमण्डन शाह)ले आफ्नो पालामा कास्कीको राज्यलाई ७०० घरधुरीबाट ८००० घरधुरीसम्म पु¥याएका हुन् । यही समयका खसराजा कुलमण्डन शाहले प्रजाहरुलाई हात लिंंदै घले र मगर राजाहरुलाई हराउँदै पूर्वमा मादीनदी, पश्चिममा मोदीनदी, उत्तरमा अन्नपूर्ण हिमश्रृङखला र दक्षिणमा सेतीनदी क्षेत्र भित्र ८००० घरधुरीको राजकाज गरेर बसेका थिए । कास्कीका राजा कुलमण्डन (जगतिखान ) शाहका जेठा छोरा , जलाल शाह (कास्कीका कास्कीका युवराज), माहिला कालु शाह ( लमजुङका राजा ),चैतु शाह (अर्घौ र बेगनासका उमराव), रुपा शाही (रुपाकोटका उमराव), विगृदी शाही ( बेगनास उत्तरका उमराव), विजय शाही ( विजयपुर देखि तनहुँ सम्मका उमराव ) र यशोब्रह्म शाह ( दाजु कालुशाहको मरणोपरान्त लमजुङका राजा )समेत ७ भाइ छोराहरु भएका थिए । राजा कुलमण्डन शाहले उमरावका अतिरिक्त आफ्नो प्रशासनिक पकड कायम राख्न कास्की राज्यको दक्षिण पश्चिम तर्फ रामसिंह, गणेशसिंह, अजितसिंह, अहिराम कुँवर र किरु कुंवरहरुलाई काजी पदमा नियुक्त गरी पठाएका थिए । यसैगरी कास्कीको चितेपानी देउरालीमा झागल अधिकारी र मालमुल एवं गगनगौंडा हेर्ने गरी गगन अधिकारीलाई काजी पदमामा नियुक्त गरेका थिए । एकपटक कास्कीका युवराज जलालशाह भेटघाटको लागि ससुरालीमा पुगे । ससुराली घरमै खानामा विष प्रयोग हुँदा जलाल शाहको अकालमै मृत्यु भयो । दाजु जलाल शाहको मरणोपरान्त साहिला राजकुमार चैतु शाहले भाउजु स्वरुपावती (सरुमैरानी)लाई सिह्यारी कास्कीको राजा बन्ने दाउपेचमा लागे । यसै क्रममा कास्की दरवारमा राज सभा बस्यो । अर्घौका प्रशासक चैतु शाहले दाजु जलाल शाहको मरणोपरान्त जीवित राजकुमारहरुमा सबै भन्दा जेठो पनि आफै भएकोले कास्की राज्यको हकदार पनि आफै र भाउजु सरुमैरानी पनि मेरै हक हो भनी दाबी गरे तर सोही सभामा कास्की अन्तर्गतकै चितेपानीका काजी झागल अधिकारी र मालमुलका काजी गगन अधिकारीले सरुमैरानी (सरुपावती)को गर्भको निरुपण नभए सम्म कास्की राज्यमाथि चैतु शाहको हक नलाग्ने सत्यवचन बोलेका थिए । नीजहरुको बोलाइमा राजा जगति खानले सहमती जनाउँदै जलालशाहको रानीे गर्भवती भएकोले रानीको गर्भको निरुपण नहुँदा सम्म चैतु शाह कास्कीको राजा हुन नपाउने घोषणा गरे । चैतुशाह नाजवाफ भइ कास्कीबाट अर्घौमा फर्किए ।
उमराव चैतु शाह , काजी झागल अधिकारी र महाशर्मा तिवारी
राजकुमार चैतुशाहले भाउजु प्रति पाप चिताएको महसुस गरी कास्कीका काजी नरेन्द्र अधिकारीका नाति अरिन्द्र अधिकारीको छोरा भारद्वाज गोत्रीय काजी झागल अधिकारी र काजी गगन अधिकारीको सहमतीमा युवराज्ञी स्वरुपावतीलाई कास्कीकोटबाट तत्कालीन आठ टिका मध्येका नुवाकोट, ढोर एवं भीरकोट राज्य रं रिसिङ राज्यको बाटो हुँदै हाल तनहुँ जिल्लाको व्यासनगरपालिका वडा नं.५ एवं म्याग्दे गाउँपालिका वडा नं. १ को सिमानामा अवस्थित साविक कास्कीको हाल तनहुँको अधीनमा रहेको मानहुँकोट अनन्तीकुण्ड नजिकको थुम्की भन्ने स्थानमा लुकाएर राखेका थिए । काजी झागल अधिकारीले आफ्ना विश्वासपात्र जोतिष महाशरम ( महाशर्मा बाट अपभ्रंश भइ महाशरम भएको ) तिवारी र बगाले थापाहरुलाई युवराज्ञी स्वरुपावतीको सुरक्षाको जिम्मेवारी सुम्पेका थिए । ( श्रोत — स्याङजा स्थित चौबिसी राज्यहरुको इतिहास — डा.राजाराम सुवेदी — प्राचीन नेपाल अङ्क १५२ )
अर्घौंका उमाराव चैतु शाहले झागल अधिकारीलाई देउमाडी पश्चिम चितेपानी, ठूलो स्वाँरा महादेव बेसी ,शङ्कर बेसी सहितको भूभागको राजस्व र सुरक्षा हेर्ने गरी चितेपानी क्षेत्रको काजी नियुक्ती गरी राखेका थिए । चितेपानी भञ्ज्याङमा अहिले पनि चितेपानी देउराली मन्दिर रहेको र त्यहाँ नियमित पूजाआजा हुँदै आएको छ । ( श्रोत— तिलकदानी अधिकारी— शिशुवा बजार कास्की) यसै गरी झागल अधिकारीका भाइ गगन अधिकारीलाई पनि तनहुँको कोत्रेभन्दा पश्चिम तर्फको गगनगौंंडा, मालमूल राजा चौतारा र भण्डारी डिही समेतका मौजाहरुको राजस्व असुली हेर्ने एवं सुरक्षा अधिकारीमा नियुक्त गरेका थिए । आफुले रचेको षडयन्त्र बिरुद्ध अधिकारी बन्धुहरुले असहयोग गरेको ठहर गरी उमराव चैतु शाहले झागल अधिकारी र गगन अधिकारीलाई देउमाडी स्थित अर्घौको ठूलाकोटमा बोलाए । राजाको छोरा तथा अर्घौका उमाराव चैतुशाहको आदेशानुसार समयमै गगन अधिकारी उपस्थित हुन सकेनन तर झागल अधिकारी अर्घौकोटको भञ्ज्याङ ( पोखरी— नजिक) तथा हालको गौंडामा ( हालको कालिका बजारको ) आइपुग्नासाथ झागल अधिकारीलाई अर्घौंका २४ थुमका उमराव चैतुशाह माथि दगा गरेको तथा राजद्रोह गरेको आरोप लगाई उमराव झागललाइ चैतुशाहले मृत्युदण्डको संजाय सुनाए । ( श्रोतः चौबीसी राज्यको इतिहास―शिक्षा, कला र संस्कृति―गोपिनाथ शर्मा ) काजी झागल अधिकारी मारिनु पूर्व झागल भाग्न नसकोस भनेर गौडा नजिकको ठूलो ढुङ्गा अगाडि पोखरी खनिएको थियो । पोखरी अहिले पनि यथावतै छ । त्यही ढुङ्गामा झागल अधिकारीलाई मारियो । झागल अधिकारीलाई काटिएको ढुङ्गामा झागलका श्रीमतीहरु सती गएका हुन् भन्ने जनश्रुति सुन्नमा पाइन्छ । सति पोलिएको ढुङ्गालाई फोरेर अहिले कालिका थानको घण्टा झुण्ड्याउने बाहाँ बनाएको पाइन्छ । झागल अधिकारीलाई मारिएको थलोलाई अहिले पनि झाझरमारे भन्ने गरिन्छ । (श्रोत अर्घौ कालिकाका सामबेदी गौतम गोत्रीय त्रिपाठीको वंशावलीको शुभकामना मन्तव्यमा —डा. जगमान गुरुङ ) अर्घौ भञ्ज्याङको गौंडामा झागल अधिकारी काटिए पछि देउमाडीमा अन्यौलता छायो ।
तल्लो अर्घौ निवासी महाशर्मा तिवारी र गगनगौडाका सुरक्षा अधिकारी गगनसिंह अधिकारीहरु मिलेर रातविरातमै सरुुपावतीलाई सुरक्षाहेतु मानहुँकोट पुराए । चैतु शाहको निर्णयको खिलाफ गएका गगनसिंह अधिकारीलाई पनि तल्लो गगनगौंडा र माथिल्लो गगनगौंडाको बीचको तत्कालीन भीरकोट राज्यको कस्र्यादी जाने गौंडामा गगन अधिकारीको हत्या गराइयो । गगन अधिकारी मारिएको स्थानलाई अहिले पनि गगनगौंडा नामले सम्वोधन गरिदै आइएको छ । झागल अधिकारीको मरणोपरान्त नीजका सन्तानहरु कास्कीबाट भागेर श्यामका परिवार निभारचोक लमजुङमा र मानिकका सन्तानहरु ज्यामरुकमा गइ बसोबास गरेका हुन् भनिएको छ । झागल अधिकारीको पक्ष लिएका ब्राह्णहरुलाई पनि चैतु शाहले दगा गरेका थिए भनिएको पाइन्छ ।
राजशाहको जन्म र सरुपावतीको संकल्प
रानी सरुपावतीको गर्भबाट राजा कुलमण्डन शाहको नाति राज शाहको मानहुँकोटमा जन्म भएको खवर कास्की दरवारमा पुग्यो । कास्की नवयुवराज राज शाह जन्मेको थुम्का भएकोले अहिले पनि यस थुम्कीलाई राजा थुम्की भन्ने गरिन्छ । नव युवराजको जन्मेको खबर आए पछि राजा कुलमण्डन शाह हर्षित हुँदै युवराज्ञीलाई कास्की आउने निम्तो दिए । दुःखको बेला आफुलाई सुरक्षा गर्ने सुरक्षाकर्मीहरुको बन्दोवस्ती गर्न र आफु गुप्तवास बस्दा सहन परेको पिडा सम्झंदै पिडकहरुलाई कार्यवाही गर्न पाउने भए कास्कीकोट आउने नत्र आउन नसक्ने समचार कुलमण्डन शाहलाई पठाइन । राजा कुलमण्डन शाहले युवराज्ञी सरुपावती शाहलाई सर्वाधिकार सुम्पी दिए पछि मात्र उनी नवयुवराज राज शाहलाई पनि साथ लिएर कास्की दरवारमा उपस्थित हुन गएकी थिइन । कास्कीका राजा कुलमण्डन शाहको आदेशमा सैनिकहरुको सुरक्षा घेरामा सातमुहाने र खाल्टे खोला बीचको राजा चौतारामा पुगेपछि कास्कीका राजा कुलमण्ड शाह र कास्कीका तत्कालीन उमरावहरुको सभा बसी नवयुवराज राज शाहलाई कास्की राज्यको उत्तराधिकारी तोकिएको निर्णय राजा कुलमण्डन शाहले घोषणा गरेका थिए । राजा कुलमण्डन शाहको मरणोपरान्त वि.सं.१५८४ मा कास्कीका युवराज राजशाहीलाई कास्कीको गादी प्रदान गरिएको थियो । पछि कास्कीका राजा शिव शाहका पालामा पनि कास्की र लमजुङको युद्ध हुँदा कास्कीले लमजुङको यारदी सम्म कब्जा गर्दा लमजुङले फौज जम्मा गरी लडाइ गर्दै कास्कीको ओख्ले , अर्घौ, देउमाडी र ठूलाकोटमा आक्रमण गरी विजय हातपा¥यो । विजयपुर खोलासम्म लमजुङको सिमानाको साँध लगाइयो । कास्कीको मालमुलमा तनहुँ लमजुङ, नुवाकोट, कास्की, भीरकोट, ढोर , सतहुँ, गरहुँ, गोरखा, रिसिङ घिरिङ र पर्वतका राजाहरुले कास्की र लमजुङको साँध सिमानामा मिलेर बस्नु पर्छ भे विषयमा ऐतिहासिक सम्मेलन हुन पुगेको थियो । चौविसी मध्येका बाह्र राजाहरुको सम्मेलन भएका स्थान हुनाले यसलाई राजा चौतारा भन्ने गरिएको हो ।
अन्ततः नवयुवराज घोषणा गरिएका राजकुमार राज शाहलाई कास्कीको राजगद्दीमा राज्यारोहण गराइएको थियो । राज शाह बालक रहँदा सम्म रानी स्वरुपावती शाहले नायवी भएर कास्कीको शासन चलाएकी थिइन । राज शाहको हातमा कास्कीको शासनसत्ता पुगे पछि सरुमैरानी (सरुपावती )शाहले देवर चैतु शाहलाई अर्घौकोटबाट कास्कीकोट झिकाई मृत्यु दण्ड दिएकी थिइन । लगभग ५० वर्ष राजा भएका राजशाहले एकछत्र कास्की राज्यको शासन सत्ताको बागडोर सम्हालेका थिए ( श्रोत ―चौबिसी राज्यको इतिहास ― शिक्षा, कला र संस्कृति― गोपिनाथ शर्मा ) ।
गलेखामकोटका राजा चक्रधर रानाको पलायन र मानहुँकोट
तनहुँका राजा दिग्विजय सेनले आफ्नो राज्यकाल वि.सं. १७३० –१७७१ को बीचमा तनहुँले गलेखामकोट विरुद्ध युद्धघोष ग¥यो । युद्धबाट धनजनको नोक्सान हुने भएकाले गलेखामकोटका राजा चक्रधर राना लडाइ नगरी आफु पलायन हुने बिचार गरे । गलेखामलाई १२ थुममा विभाजन गरी १२ मुखियाको व्यवस्थापन गरी कोटभैरवीको पूजापद्धती नियमित बनोस भनेर कोटभैरवी मन्दिरको दर्शन गरी आफूलाई व्यासप्रयागमा गइ तपश्वी बने । प्राकृत्तिक प्रकोपको संभावना बढदै गयो। गलेखामकोटलाई अधीनमा लिए पछि यहाँका राजा चक्रधर राना पनि मानहुँको यही थुम्की भन्ने स्थानमा आइ ध्यानी तपश्वी बनेर बसेका थिए भन्ने कुरा गलेखामकोट भैरवी संरक्षण समितिका सचिव डा विद्युतकेशरी न्यौपानेले हाम्रो साक्षात्कारमा बताएका हुन । कास्कीकोटको राजाको अधीनमा रहँदाको समय होस या गलेखामकोट र तनहुँका राजाहरुको अधीनमा रहंदाको समय होस मानहुँकोट सदैव एक महत्वपूर्ण सैनिक गढीको रुपमा विकसित भइरहेको थियो ।
मानहुँकोटका सिद्ध र घुटुक्दी वाराही
मगरहरुको आरध्यदेवता सिद्ध र वाराही हुन् । मानहुँको उत्तरी पाटोमा सिद्धभगवानको निवासस्थान सिद्धगुफा र पाटनमा घुटुक्दी वाराहीको मन्दिर भेट्दछौं । मानहुँकोटमा शिद्ध ऋषिङको उत्तरतर्फको मोर्चावाङ ( केरावारी ), डडीवनको बाटो हुँदै सेती नदी पार गरेर बच्र्याङको उकालो चढेर बच्र्याङ गाउँ हुँदै मानहुँ आइपुगेका हुन् भन्ने मानहुँवासीहरुको लोकमत रहेको छ । दुई वर्ष उमेर पार गर्दै गरेका सिध्दभगवानलाई पालनपोषण गर्ने जिम्मा ७०० मानहुँवासीको जिम्मेवारी बनेको थियो रे । शिद्धलाई हुर्काउन मानहुँवासीहरु खाना लिएर गाउँ भन्दा अभेग एवं साँगुरो र अप्ठ्यारो बाटो भएर सिद्धगुफा सम्म पुग्न पर्दथ्यो । कामले थाकेका र झरीले जान नसकेका बेला सिद्धबाबालाई खाना लैजाँदा कसै कसैले यो सिद्धबाबाका कारण हामीले हुँदो न खाँदो दुःख पाइयो भन्दै मनमनै गन्थन गर्दै खाना लगि दियो भने सो दिनको खाना नखाइ सिद्ध भोकै बस्दथे भन्ने कुरा तीलबहादुर थापामगरले आफ्ना पूर्वजहरुबाट सुनेको कुरा हामीलाई सुनाए । हुनत किरातहरुको पारोहाङ र सुम्नीमा भने जस्तै ढुटमगरहरुका आरध्यदेवता सिद्धलाई महादेवको रुपमा र वाराहीलाई कुलदेवीको रुपमा पुज्ने परम्परा अद्यापि रहेको छ । महादेव स्वरुपका सिद्धदेवतालाई बलि नचड्नु पर्ने हो तर मगर समाजमा भगवान सिद्धलाई पनि बलि दिने परम्परा रहेको पाउँदछौं । हरेक वर्षको बैसाख महिनाको शुक्लपक्षको पूर्णिमाको दिन सिद्धदेवतालाई बलि अर्पणका साथ पूजाआजा हुने गर्दछ । हाम्रा अग्रजहरुलाई देवता मान्ने हाम्रो खस र मगरहरुकोे आफ्नै परम्परागत विशिष्टीकरण हो तथापि उनै राजशाही नै मानहुँवासीका सिद्धदेवता हुन् की भनेर कल्पना गर्न सहयोग पु¥याएता पनि हो नै भन्ने माखिक कहावत बाहेक हामी सङ्ग अरु कुनै प्रमाण भेटिंदैन ।
मानहुँकोटको दरवार
खण्डहरको रुपमा परिणत भएको मानहुँकोटको राजदरवार मानुङ चारघरे एवं अनन्त कुण्ड नजिकको थुम्की भन्ने ठाउँमा रहेको थियो । हाल दरवारको भग्नावशेष रहेको ठाउँ अहिले मकैबारीमा रुपान्तरित भइसकेको छ । उक्त जग्गामा राजाको दरवारको खण्डहर जग अझै पनि गर्भगृहमा जीवन्त रहेको प्रतक्ष दर्शन र म्याग्दे १ निवासी शिव श्रेष्ठले बताउनु भयो । कास्कीका युवराज जलाल शाहको ससुराली घरमा देहान्त भए पछि अर्घौका प्रशासक चैतु शाहबाट युवराज्ञी सरुपावती शाहको ज्यानको असुरक्षा बढदै गयो । कास्कीकोटका काजीहरु झागल अधिकारी , गगन अधिकारी र महाशर्मा तिवारीले हाल व्यास नगरपालिका वडा ंनं. ५ को सिद्धगुफामा ल्याएर लुकाएका थिए । ( चौबीसी राज्यको इतिहास― शिक्षा, कला र संस्कृति―गोपिनाथ शर्मा ) पछि तिनै राजकुमारीलाई मानहुँकोटको थुम्कीमा दरवार बनाइ राखी दिएको बुझ्नमा पाइन्छ । नवयुवराज राज शाहको जन्म, न्वारन, भात—खुवाई कपाल मुण्डन, लगायतका कर्महरु यही स्थानमा भएका थिए भनिन्छ । राजशाहलाई कास्की कोट लैजाँदा कुम्हालहरुले बोकी लगेको हुँदा किपटमा थिति बाँध दिएकी थिइन । राज शाह कास्कीको राजा बने पछि आफुलाई सहयोग गर्ने तिवारी र अधिकारीहरुलाई मानुङ,तप्राङ, तेराथुम, सिमलचौर नुवाँगाउँ, चुया बिसौना देउराली र मज्र्याङकोटका जग्गाहरु विर्ता वितलव गरी दिएकी थिइन । श्रोत —स्याङाथित चौविसी राज्यहरुको इतिहास —डा. राजाराम सुबेदी — प्राच्ीन नेपाल अङ्क १५२)
व्यास ५ मानहुँकोट गाउँ निवासी किमान सिंह न्हुचुङ थापा मगरले उक्त थुम्कीमा शंखे आले नाम गरेको मगर जोगीले तपस्या गरेर बसेको र उक्त जोगीले त्यसस्थानमा शंख फुक्ने गरेकोले उस्को नाम शंखे आले राखिएको बताए । शंखे आले बस्ने ठाउँमा घुमाउने घर रहेको र सो स्थानमा देवीको पूजाआजा हुँदै आएको कुरा म्याग्दे १ मानहुँका जग्गाधनी श्री.तिलबहादुर थापाले हामीलाई बताए ।
(४) मानहुँकोटको मौला
हरेक कोट तथा मौलाहरुमा माता दुर्गा भवानीको पूजाआराधना हुने गर्दछ । यसैले यहाँ पनि हरेक आश्विन शुक्लपक्षको परेवा तिथि देखि माता दुर्गाभवानीको पूजाको सुरुआत गर्ने परम्परा रहेको छ । गलेखामकोटका राजा चक्रधर रानाका पूर्वजहरुले चलाएको परम्परा र उनको पालामा अझ व्यवस्थित गरिएको दुर्गोत्सवको फूलपाती हरेक बडादसैंको सातौं दिनका दिन फूलपाती भित्र्याउने, अष्टमी तथा नवमी तिथिमा मौलामा बलिदिने र दशमीका दिनदेखि पूर्णिमाका दिनसम्म मान्यजनको घरमा पुगेर टिका एवं आर्शिवाद ग्रहण गर्ने परम्परा प्रथा अद्यापि कायम रहेको छ । रानावंशीय मगर राजाहरुले सुरुआत गरेको बडादसैं भाद्र शुक्लपक्षको घटस्थापना देखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्ने गरिन्छ भने चैतेदसै भने अष्टमी तिथिमा एकदिन मात्र माता मौलाकालीको पूजाआरधना हुने गर्दछ । आश्विन शुक्लपक्षर्कोे सातौं दिनका दिन बिहानै बाष्टे (पुजारी)हरु गुणादी खोलामा पुगेर नुहाई धुवाई गरेर शुद्धभई बेलघारी पुगेर दुष्टशक्तिको पूजाआजा एवं बलिअर्पण गर्दथे । दुष्टशक्तिको सम्पन्न भएपछि मात्र बेलको रुखको फेदमा गाईकोगोवर र रातोमाटोले लिपेर शुद्ध गरिएको स्थानमा विल्व—पत्र निमन्त्रण पूजाआजा सहितको नव—पत्रिका पूजा सम्पन्न गरिन्छ ।
पूजा गरेर बेलको बोटबाट टिपिएका बेलपत्र, अन्यत्रबाट टिपिएका फूलपातीे, उखु डोलीमा र उखुको लाँक्राहरु बेलको रुखमा सजायर राख्ने गरिन्छ । यसरी संकलन गरिएको बेलपत्र र फूलपातीको डोली फूलपाती शोभायात्राको आकर्षणको केन्द्रबिन्दु बन्ने गर्दछ । यसरी टिपेर राखिएका फूलपातीलाई मौलाका बास्टेहरुले बोकेर मानहुँको चारघरे स्थित फूलपाती चौतारामा ल्याएर बिसाउने गर्दछन् । मौलामा चारजना बास्टेहरुले विधिपूर्वक पूजाआरधना गरेपछि बोका बलिभोग दिने र फूलपाती शोभायात्रामा संलग्न भाइभारदार एवं सम्पूर्ण भक्तहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । चारघरे, नौघरे, टाक्राङ, मानहुँ , बहपुर उमाचोक लगायतका गाउँका भद्रभलादमी सबैजना मिलेर निकालिएको फूलपाती शोभायात्रामा सर्वप्रथम संगीतका सूचक सारङ्गी लिने गन्धर्वहरु, बाजाबजाउने, दमाइहरु, ध्वजापतका सहितका लिङ्ग लिने भाइभारदारहरु, विजयको प्रतिक निशान बोक्ने भाइभारदारहरु, वरुणदेवताको प्रतिक पूर्णघडासहितको कलश बोक्ने विवाहित सधवा महिला कल्स्यौली, फूलको डोली बोक्ने बास्टेहरु, ढाल, तरवार तथा खुकुरी भिरेका सैनिक तथा भाईभारदरहरु, मादल तथा खैजेरी र झुर्मा बोकेका गायक, घाँटु तथा कौरा गीतमा रमेका महिला तथा बालबालिकाहरु सहभागी रहने गर्दछन् । फूलपाती भित्र्याए पश्चात मौलामा बलि दिने परम्परा रहेको छ । आश्विन शुक्लपक्षको अस्टमी, नवमी र दशमीका दिनहरुमा बलिदिने र दशमीका दिन मान्यजनबाट टिकाग्रहण गरेर भव्यताका साथ दसैं पर्व मनाउने गरिन्छ । यसै गरी चैते दसैमा पनि धुमधामका साथ माता दुर्गाभवानीको पूजाआरधाना गर्ने परम्परा रहेको छ । पहिला पहिला मानहुँ लामीडाँडा अन्तरगत चारघरे, नोघरे ,टाक्राङ, बच्र्याङ, श्रीभञ्ज्याङ, थानसिंङ, बहपुर, किलचोक, पिपलथोक, डाँकुभञ्ज्याङ,जोगीमढी, छाङहटिया, छाङाडि, गुणादी, कन्टार र पाटन लगायतका गाउँहरुको प्रत्येक धुरीबाट धान, चामल , घिउ, तेल, केरा, दै—दस्तुर ल्याउने परम्परा थियो । यसै गरी यहाँका दरै, कुमाल, बोटेहरुले घैंटो, हाँडी, धुपौरो कपन र माछाको भारसगुन लैजाने गर्दथे । भारसगुनका अतिरिक्त यहाँका नागरिकहरुले राँगा, हाँस, कुखुरा, बोका आदिको मौलामा बलि , सर्दाम, भेटील्याउने र पूजाआजा गर्ने परम्परा रहेकोमा अहिले चारघरे , नौघरेका मनिसहरुबाट मात्र मानुँकोटछाप मौलाको पूजाआजा हुँदै आएको कुरा तिल बहादुर थापाले हामीलाई बताए ।
अन्त्यमा वि.सं. २०४० सालसम्म मानहुँको माथिल्लो कोटमा ४० घरधुरीहरुबाट कोटभैरव मन्दिरमा फूलपाती भित्र्याउने र पूजाआजा गर्दै आएकोमा आजकल ६ घर मात्र भएकाले कोटमा पूजाआजा हुँदै आएता पनि बेसी बेलघारी पुगेर बेलपत्र ल्याउने र फूलपाती भित्र्याउने काम गर्न छोडेको कुरा किमानसिंह थापा मगरले बताए ।