दमौली । मिस नेपाल २०२४ को टप १० का लागि तनहुँकी करुणा राउत प्रतिस्पर्धामा छिन् । भोटको आधारमा राउत प्रतियोगिताको टप १० का प्रतिस्पर्धा गरिरहेकी हुन् ।
गत हप्ता टप पॉच मध्ये तीनमा रहेकी उनी यसपटक टप १० को उत्कृष्ट एकमा परेकी हुन् ।
टप १० मा पुर्याउन सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरिन् । १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी उनी यसअघि मिस एसएलसी पोखरा-२०१४ की रनरअप समेत हुन् ।
सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको सांसदले सञ्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ ।उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्याम्प वाक प्रदर्शन गरेकी थिइन् ।
विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर काम गरेकी उनीसँग बूमटाउन शिखर सम्मेलनमा सहभागी भएको अनुभव पनि छ ।
सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अस्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद् भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् ।