सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८१, शनिबार

    दमाैली । तनहुँको आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा दिने तयारी गरेको छ । दुई वर्ष अगाडी स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालले आगामी आर्थिक वर्षको सुरुमै शल्यक्रिया सेवा दिने तयारी गरेको हो ।

    अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले जानकारी दिए । गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक लाइट, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको छ । क्षेत्रीले भने, “केही थप औजार उपकरण, रक्तसञ्चार सेवा र व्यवस्थापन भएपछि आगामी आर्थिक वर्षको सुरुमै शल्यक्रिया सुरु गर्नेछौ ।”

    लामो समयको प्रयासपश्चात् अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। उनले भने, “अस्पतालमा शल्यक्रिया सुरु गर्ने लामो समयको प्रयासले अब सार्थकता पाउँदैछ ।” अस्पतालले प्रसुती, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ ।

    चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति रहेपनि उपकरण अभावमा सेवा सुरु गर्न ढिलाइ भएको चुमानको भनाइ छ । उनले भने, “अस्पतालमा हामीसँग तत्काल शल्यक्रिया सेवा सुरु गर्नका लागि जनशक्ति तयारी अवस्थामा छ, तर उपकरण अभावले सेवा सुरु गर्न सकेका थिएनौ ।”

    गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको छ । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

    गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएको हो । गाउँपालिकाका अध्यक्ष चुमानले भने, “स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छौ । इलाका वनको भवनलाई ल्याब बनाएका छौ । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौ ।”