‘मिनी मुक्तिनाथ’ को रुपमा विकास हुँदै च्यवनधाम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘मिनी मुक्तिनाथ’ को रुपमा विकास हुँदै च्यवनधाम

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८१, शनिबार

    दमैाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’ को रुपमा विकास हुन थालेको छ । मुक्तिनाथकै झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरिएपछि यस ठाउँ धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुन थालेको हो ।

    च्यवनधाम परिसरमा निर्माण गरिएको शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्ने गरेको च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए।

    मन्दिरको अलवा यहाँ मुक्तिनाथकै झल्को दिने एक सय ८ धारा, एक सय ८ ओमकार कल्पवृक्ष, एक सय ८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क लगायतका संरचना बनाइएको छ । बौद्ध धर्मावलम्बीको लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मावलम्बीको जागरुपतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको छ । यहाँ बनाईएको गुम्बाले एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने गरेको लम्सालले बताए।

    उनले भने, “यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्धेश्यसहित स्थानीयवासी लागिपरेका छन् । यस ठाउँलाई धेरैले मिनी मुक्तिनाथको रुपमा चित्रण गर्ने गरेका छन् ।”

    च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुदर्शी र शिवरात्रीमा भक्तजनको बढी घुइँचो लाग्छ । प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ ।

    च्यवनधामका उपाध्यक्ष अस्मिता खनालले यस ठाउँ साझा धार्मिक आस्थाको केन्द्रको रुपमा परिचित रहेको बताइन्। उनले भनिन्, “सुन्दर धार्मिक सांस्कृतिक संरचना, पर्यटकीय आकर्षकका बिम्बहरु, ज्येष्ठ नागरिक आश्रम, बेसाहारा छाडिएको गाइहरुको संरक्षण गर्न स्थापित गौ संरक्षण केन्द्रको व्यवस्थापकीय जिम्मेवारी यसै धामले ग्रहण गरिरहेको छ ।”

    शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मिनी मुक्तिनाथको रुपमा विकास भइरहेको यस ठाउँको थप विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताए। उनले भने, “यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ भनेर स्थानीयवासी जागरुक बन्नुभयो, आज यसले एउटा स्वरुप पाएको छ । यसको प्रबद्र्धनका लागि नगरपालिका सहकार्य गर्न सदैव तयार छ ।”

    स्थानीयवासी एवं पूर्वमन्त्री आशा कोइरालाले विगतमा एक्लै मान्छे हिँड्न डराउने यस ठाउँ आज धार्मिक गन्तव्यस्थल बन्न सकेको र यसको सम्पूर्ण श्रेय स्थानीयवासीलाई जाने उल्लेख गरिन् ।

    च्यवनधाम र गौं संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रबद्र्धनका लागि यही सोमबारदेखि धार्मिक महोत्सव आयोजना गरिएको छ । साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् ।

    यसरी फेरियो स्वरुप

    पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो त्यो नदी छेउको थुम्को पवित्र धाम बनेको छ । झकिझकाउ मन्दिर ठड्याइएको छ ।

    माथि उल्लेख गरिएको सुन्दर पङ्क्तिलाई तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्थानीयवासीले एक दशकको अवधिममा प्रमाणित गरेर देखाएका हुन् । एक्लै हिँड्न पनि डरलाग्ने कुरुप साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीलेसोचेका पनि थिएनन् ।

    तर, त्यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएका छन् । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले कहलिएको छ । यस ठाउँ भगवान शिवजी प्रति आस्थावान् भक्तजनको आकर्षणको केन्द्र बनेको छ । हिन्दु धर्मको मात्र नभइ च्यवनधाम बौद्ध धर्मावलम्वीहरुको पनि आस्थाको थलो हो ।

    विसं २०६५ सालमा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कसैले हडप्न नखोजेको भए यो परिवर्तन सम्भव थिएन । “यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौ,” च्यवनधामका अध्यक्ष लम्सालले भने, “जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षारोपण ग¥यो । यहीँको पुन मगर समाजले तारबार लगाए ।” पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरुको अन्तिम घर अर्थात चिहान त्यही आडैमा थियो ।

    जग्गा संरक्षणको दुई वर्षपछि विसं २०६७ सालमा काठमाडौं बस्दै आउनुभएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सम्पर्क भयो । पौडेलले सेतीको तिर तपोभूमि भएको सुनाउनुभयो । त्यसो त शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिको रुपमा पनि परिचित थियो ।

    त्यही वर्षको कात्तिकमा मन्दिर सहितका पूर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो ।

    समिति मन्दिर बनाउन कस्सिएपनि आर्थिक अभाव आइलाग्यो । देशभर आर्थिक सङ्कलनका लागि महायज्ञ गर्ने परम्परा चलेको बेला त्यसैलाई अनुसरण गर्ने उपाय निकाल्यो उक्त समितिले । पूर्वाधार निर्माणमा आर्थिक सङ्कलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० गतेदेखि १७ गतेसम्म सञ्चालन भएको महायज्ञमा रु एक करोड ५० लाख आर्थिक सङ्कलन भएको थियो । त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको थियो ।

    महायज्ञ लगाएको छ महिना पछाडी विसं विसं २०६८ कत्तिकमा मन्दिर शिलान्यास गरिएपछि पूर्वाधार निर्माणको चरण सुरु भएको थियो । मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोड भन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको छ ।

    यहाँ गण्डकी प्रदेश सरकारको लगानीमा रु २५ लाख खर्च गरी यहाँ रहेको एक सय आठ धाराको माथिपट्टी कृत्रिम हिमाल निर्माण गरिएको छ । कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

    यही बाटो भएर तनहुँकै प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ । ढोरवाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेका छन् । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको सुरुवाती बिन्दु हो । सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम ट्रेक यहीँबाट सुरु हुने भएकाले पनि पर्यटनमा यथेष्ट सम्भावना छ ।