धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता, नगरप्रमुख र आन्दोलनरत पक्षबीच ३ बुँदे सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता, नगरप्रमुख र आन्दोलनरत पक्षबीच ३ बुँदे सहमति

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८१, आईतवार

    सुनसरी । धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र धरान उपमहानगरपालिका नगरप्रमुख हर्क साम्पाङबीच ३ बुँदे सहमति भएको छ । तीन सातादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र नगरप्रमुख साम्पाङबीच आइतबार भएको ६ घण्टा लामो वार्तापछि सहमति भएको हो । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएको छ । 

    वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । सहमतिबारे सोमबार सर्वदलीय बैठक बसेर पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने उनीहरुले जनाएका छन् ।

    दिउँसो साढे २ बजेदेखि सुरु वार्ता रातिसम्म पनि सहमति नहुने संकेत देखिएपछि उपमहानगर कार्यालय बाहिर धर्नामा बसेका उपभोक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले वार्ता टोलीलाई भित्रै थुन्ने तयारी गरेका थिए । त्यसपछि दबाबमा परेका वार्ताकर्ताहरु सहमति गर्न बाध्य भएका थिए । (इकान्तिपुरबाट)