तनहुँ अदालतमा कूल मुद्धामध्ये एक चौथाई बढी सम्बन्धविच्छेदका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ अदालतमा कूल मुद्धामध्ये एक चौथाई बढी सम्बन्धविच्छेदका

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८१, बुधबार

    दमौली । तनहुँ अदालतमा दर्ता हुने कूल मुद्धामध्ये एक चौथो भन्दा बढी मुद्धा सम्बन्धविच्छेदका हुने गरेका छन् ।

    आर्थिक वर्ष २०८०÷८१ मा दर्ता भएका कूल एक हजार छ सय ६५ मुद्धामध्ये सम्बन्धविच्छेदका मात्रै छ सय १३ मुद्धा दर्ता भएका छन् । अदालतमा एक वर्षको अवधिमा दर्ता भएका नयाँ मुद्धाको ३६ दशमलब ८१ प्रतिशत मुद्धा सम्बन्धविच्छेदको रहेको तनहुँ अदालतका श्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।

    कार्यालयमा सम्बन्धविच्छेदका मुद्धामा अघिल्लो वर्षको जिम्मेवारी सरीआएको एक सय ७१ मुद्धा थियो । दुवै गरी सात सय ८४ मुद्धा सम्बन्धविच्छेदको रहेकामा छ सय ७२ मुद्धा फछ्र्यौट भई एक सय १२ मुद्धा बाँकी रहेको पौडेलले बताए ।

    तनहुँ अदालतमा दर्ता हुनेमध्ये सम्बन्धविच्छेदको मुद्धा पहिलो नम्बरमा रहेको छ । कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि अदालतमा सम्बन्धविच्छदेका मुद्धा बढी आउने गरेको बताइएको छ । बालविवाह, विपन्नता, मोवाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले सम्बन्धविच्छेदको मुद्धा बढेको अनुमान गरिएको छ ।

    अदालतले आर्थिक वर्ष २०८०÷८१ मा दुई हजार २८ थान मुद्धा फछ्र्यौट गरेको छ । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरिआएका एक हजार एक सय एक र नयाँ दर्ता एक हजार छ सय ६५ गरी कूल दुई हजार सात सय ६६ मुद्धा रहेका थिए । त्यसमध्ये दुई हजार २८ थान मुद्धा फछ्र्यौट भइ सात सय ३८ थान मुद्धा बाँकी रहेको श्रेस्तेदार पौडेलले बताए ।

    अदालतले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा एक हजार आठ सय २३ मुद्धा फछ्र्याैट गरेको थियो । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरीआएका एक हजार एक सय ३५ र नयाँ दर्ता एक हजार सात सय ८९ गरी कूल दुई हजार नौ सय २४ मुद्धा थियो ।

    अदालतमा आर्थिक वर्ष २०८०÷८१ मा जिम्मेवारी सरिआएका र नयाँ दर्ता समेत गरी सम्बन्धविच्छेदका सात सय ८४ मुद्धा रहेकामा छ सय ७२ फछ्र्यौट, अंशका चार सय ५५ मुद्धा रहेकामा तीन सय एक फछ्र्यौट, चेक अनादरका एक सय ८४ मुद्धा रहेकामा एक सय ३४ फछ्र्यौट, लेनदेनका एक सय २१ मुद्धा रहेकामा ७८ फछ्र्यौट, लागुऔषधका एक सय २२ मुद्धा रहेकामा ९४ फछ्र्यौट, चोरी डाँका नकबजनीका एक सय छ मुद्धा रहेकामा ८४ फछ्र्यौट, जालसाजीका एक सय ६० मुद्धा रहेकामा एक सय ११ थान मुद्धा फछ्र्यौट भएका छन् ।

    त्यस्तै बैङ्किङ कसुरका ४३ मुद्धा रहेकामा तीन फछ्यौट, जबरजस्ती करणीका ६७ मुद्धा रहेकामा ३९ फछ्र्यौट, सवारी ज्यान अङ्भङ्गका ४५ मुद्धा रहेकामा ३८ फछ्र्यौट, घरेलु हिंसाका १३ मुद्धा रहेकामा तीन फछ्र्यौट र अन्य छ सय ६६ मुद्धा रहेकामा चार सय ७१ मुद्धा फछ्र्यौट भएको जिल्ला श्रेस्तेदार पौडेलले जानकारी दिए ।

    अदालतमा सरल मार्गका एक हजार छ सय १० मुद्धा रहेकामा एक हजार दुई सय १९, सामान्य मार्गका आठ सय १७ मुद्धा रहेकामा पाँच सय ४७, विशेष मार्गका तीन सय सात मुद्धा रहेकामा दुई सय ३५ थान मुद्धा फछ्र्यौट गरेको जनाएको छ ।

    फैसला कार्यान्वयनतर्फ दुई सय ६४ मुद्धा रहेकामा एक सय ५८ फछ्र्यौट भएको अदालतले जनाएको छ । दण्ड जरिवानातर्फ रु ५२ करोड आठ लाख ६४ हजार नौ सय ७८ उठाउन बाँकी रहेकामा रु तीन करोड ८० लाख १४ असुल भएको छ । कैदतर्फ दुई हजार दुई सय ३९ वर्ष असुल गर्न बाँकी रहेकामा एक हजार एक सय ७७ वर्ष कैद असुल भएको छ ।

    अदालतका अनुसार बालबालिका प्रतिवादी भएका मुद्धा ७५ थान रहेकामा ६१ फछ्र्यौट भएको छ । त्यसमुद्धामा छ बालबालिकालाई पुर्पक्षका लागि बालसुधार गृह पठाइएको छ भने १६ जनालाई अभिभावकको जिम्मा लगाइएको छ ।