‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८१, बिहीबार

    गोरखा । चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् ।

    ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।

    उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।

    चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका छन् ।

    १० वर्षको उमेरमा घरबाट हिँडेका प्रकाश काठमाडौंबाट हराएका थिए । त्यसपछि उनी काठमाडौंबाट गोरखाको चुम भ्याली पुगेका थिए । जहाँ उनले ३३ वर्षदेखि टासी लामाको गोठालोका रुपमा काम गरेर जीवन बिताए ।

    लामो समय गोठालो जीवन बिताएर अनागरिक रहेका प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने इच्छा जाहेर गरेका छन् । गाउँपालिका अध्यक्ष लामाले प्रकाशलाई प्रधानमन्त्रीसँग भेटाउने तयारी भएको बताएका छन्।