मुग्लिन–पोखरा पश्चिम खण्डमा २० किमी दुई लेनको सडक कालोपत्रे पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन–पोखरा पश्चिम खण्डमा २० किमी दुई लेनको सडक कालोपत्रे पूरा

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८१, शुक्रबार

    दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा २० किलोमिटर दुई लेनको सडक कालोपत्रे सकिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा गत आर्थिक वर्षमा दुई लेनको २० किलोमिटर सडक कालोपत्रे सकिएको हो ।

    मुग्लिन–पोखरा सडक आयोजना कार्यालयले गत आवमा १० किमी कालोपत्रे गर्ने लक्ष्य राखेकामा लक्ष्य बमोजिमको काम सम्पन्न गरेको आयोजनाको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले बताए ।

    पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । पौडेलका अनुसार सोही अवधिमा ०.५ किमी ‘ट्याक’ चौडा गर्ने काम भएको छभने ९५ प्रतिशत ‘ब्याक कटिङ’ सम्पन्न भएको छ । सोही अवधिमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा ५ वटा सम्पन्न भएका पौडेलले जानकारी दिए । निर्माण गर्नुपर्ने १३ पुलमध्ये ८ पुलको सुपर स्ट्रक्चरको निर्माण सम्पन्न भइसकेको उनको भनाइ छ ।

    विगत केही समय पश्चिम खण्डमा न्यून प्रगति भएको अवस्थामा अहिले कामको गति बढेको छ । गत आवमा आयोजना कार्यालयको पहलमा निर्माणसँग सरोकार भएका निकायको साथ र सहयोगले सडक स्तरोन्नतिको भौतिक प्रगति नौबाट २८ प्रतिशत पुगेको पौडेलले बताए । ‘नेपालको अधिक वर्षा हुने क्षेत्रमा अवस्थित यस राजमार्गको स्तरोन्नति कार्यको सुरु डिजाइनमा सडकको सानो बफर क्षेत्रको मात्र गर्ने योजना बनाइएकामा सडकको अवस्था र चाप तथा नयाँ निर्माण भएको विमानस्थललाई दृष्टिगत गरी जामुनुबाट सेती पुलसम्मको डिजाइन परिवर्तन गरिएको छ,’ उनले भने ।

    सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचनाहरु स्थानान्तरणका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको उनले बताए ।

    आयोजना कार्यालयले लागत बेहोर्ने गरी नेपाल विद्युत् प्राधिकरणका निकायमार्फत विद्युत् पोल स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालय, विद्युत्सम्बन्धी सरोकार भएका निकायको समन्वयमा स्थानान्तरण गर्नुपर्ने २ हजार ३१ पोलमध्ये १ हजार २ सय ३६ स्थानान्तरण भइसकेको पौडेलले बताए ।

    पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।