जाने हाेइन त गलेखामकाेट ? (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जाने हाेइन त गलेखामकाेट ? (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८१, आईतवार

    दमाैली । तनहुँको सदरमुकाम दमौलीबाट पन्ध्र किलोमिटरको दूरीमा अवस्थित छ गलेखामकोट । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुन्द्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट जिल्लाकै व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकाका केही भाग देख्न सकिन्छ ।

    सदरमुकामबाट नजिकै रहेरपनि बाटोका असुविधाका कारण यो ठाउँमा खासै पर्यटक उक्लिन सकेका छैनन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ पर्यटकीय स्थल गलेखामकोट । कन्टारदेखि साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।

    आधाजसो पक्की र आधाजसो कच्ची सडक हुँदै पुगिने यस ठाउँमा सडकको असुविधाका कारण पर्यटक कम पुग्ने गरेका छन् ।

    गलेखामकोट घुम्न पुगेका व्यास नगरपालिका–२ निवासी सुदीप गफ्फार ऐतिहासिक महत्व बोकेको ठाउँ ओझेलमा परेको बताउँछन्। उनले भने, “हरियाली डाँडाले घेरिएको ठाउँ । यहाँ पुग्दा आनन्दित बनाउने रहेछ । यसको प्रचारप्रसार आवश्यक छ । सँगसँगै यहाँसम्म पुग्न बाटोको स्तरोन्नति पनि आवश्यक छ ।”

    कुनै बेला मगर राजाले समेत राज्य गरेको यस ठाउँ ओझेलमा परेपछि स्थानीयवासी समेत यसको प्रबद्र्धनमा जुटेका छन् । गलेखामकोटमा मगर राजाले शासन गरेको र अन्तिम राजा चक्रधर राना रहेको बताइन्छ ।

    स्थानीयका अनुसार मगर राजाले तनहुँका सेनवंशका राजासँग आत्मसमर्पण गरेको किंवदन्ती छ । पछि सेनवंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास छ ।

    यहाँबाट सदरमुकामको दमौली, शुक्लागण्डकी नगरपाकिालस्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्यहरु देख्न सकिन्छ ।

    गलेखामकोटमा नेवार समूदायको बाहुल्यता छ । गलेखामकोटमा भ्युटावर समेत बनेको छ । यहाँ विसं २०७६ सालमा रु १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण भएको थियो । तीन तल्लाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतको हिमश्रृङ्खला देख्न सकिन्छ ।

    गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंका बेला विशेष पूजाआजा हुने गरेको छ । बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको छ ।