भोलिदेखि मौसम थप सक्रिय हुने, भारीदेखि धेरै भारी वर्षाको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भोलिदेखि मौसम थप सक्रिय हुने, भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (मंगलबार)देखि नेपालको मौसम थप सक्रिय हुने जनाएको छ । सोमबार साँझ विशेष बुलेटिनमार्फत विभागले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले मौसम थप सक्रिय हुने जनाएको हो ।

    विभागका अनुसार, मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । केही स्थानहरूमा मध्यम वर्षा र एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

    सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    बुधबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना  छ ।

    कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    यसैगरी, असोज १० गते (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । त्यस अवधिमा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।