आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८१, बुधबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो । सङ्घले ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् ।

    उनले भनिन्, “४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।” यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् ।

    महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भनिन्, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।” घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उनको भनाइ छ ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले उत्पादित फूल बिक्रीका लागि पालिकाले सहयोग गर्ने बताए । उनले भने, “विगतका वर्षमा पनि बजारीकरणका लागि पालिकाले सहयोग गरेको हो, अहिले पनि फूल बिक्रीका लागि पालिकाले सहयोग गर्नेछ ।”

    विभिन्न सभा समारोह, कार्यक्रमका लागि फूल चाहिएमा गाउँपालिकाको कृषि शाखा वा महिला समूहमा सम्पर्क गर्न सकिने केसीले बताए । केसीले भने, “गत वर्ष पहिलोपटक यसै ठाउँमा सयपत्रीको फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको थियो ।”

    सयपत्री फूलखेतीबाट महिला कृषक उत्साहित भएको भन्दै यस वर्ष पनि सयपत्री फूलखेतीलाई निरन्तरता दिइएको केसीले बताए । उनका अनुसार गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो ।

    गाउँपालिकाले आयातीत तथा प्लास्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरुप गतवर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो ।