आँबुखैरेनीको सयपत्री कतार निर्यात गर्न पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको सयपत्री कतार निर्यात गर्न पहल

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०८१, बिहीबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री कतार निर्यात गर्न पहल गरिएको छ । गाउँपालिकाले यहाँ उत्पादित सयपत्री फूल कतार निर्यात गर्न लागेको हो ।

    आँबुखैरेनी गाउँपालिका–१ यान्चोक लघुउद्यम महिला सङ्घले गरेको सयपत्री फूलले उत्पादन दिन थालिसकेको छ । यहाँ उत्पादित सयपत्रीको फूल कतार निर्यात गर्नका लागि पालिकाले पहल गरिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, “सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौ । कतार लगायत अन्य देशमा पनि पठाउन सकिन्छ की भनेर समन्वय गरिरहेका छौ । गत वर्ष पनि यहॉको सयपत्री कतार पठाइएको थियो ।”

    यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा राम्रो प्रतिक्रिया पाएपछि अहिले दोब्बरले क्षेत्रफल वृद्धि गरेका छन् ।

    यहाँ विभिन्न समयमा उत्पादन दिने गरी खेती गरिएको छ । दसैंको पहिलो हप्तादेखि फूल उत्पादन हुन सुरु भइसकेको छ । तिहारमा बढी माग हुने भएकाले त्यसबेला बढी उत्पादन गर्ने तयारी छ । त्यस्तै एकादशी मेला र मङ्सिरको विवाह लगनमा पनि यसको उत्पादन लिने गरी खेती गरिएको कृषि शाखा प्रमुख केसीले बताए ।

    यान्चोक लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरु यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको उल्लेख गरिन् । उनका अनुसार सङ्घमा आबद्ध ७० महिलाहरुले सयपत्रीको फूल खेती गरेका छन् । महिलाहरु फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भनिन्, “चाडपर्व लगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौ । पालिकाबाट पनि हामीलाई सहयोग भएको छ ।” घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्धेश्यसहित फूलखेती थालिएको उनको भनाइ छ ।

    विभिन्न सभासमारोह, कार्यक्रमका लागि फूल चाहिएमा गाउँपालिकाको कृषि शाखा वा महिला समूहमा सम्पर्क गर्न सकिने कृषि शाखा प्रमुख केसीको भनाइ छ ।

    गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयास स्वरुप गतवर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    चुमानले तिहारमा विदेशी प्लाष्टिकका फूल तथा झिलीमिलीको सट्टा स्थानीय स्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएको बताए । गाउँपालिकाले स्थानीय स्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ ।