दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफी खेती गर्ने अभियान सहित कृष्मि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो ।
शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए। युवापुस्तामा कफीप्रति अत्याधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताए। उनले भने, “युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ । आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौ ।”
कृषकले उत्पादन गरेको कफी विक्रीका लागि बजारीकरणको व्यवस्था समेत सहकारीले गरिदिने उनकाे भनाइ छ । “हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौ, कफी उत्पादन भएपछि विक्रीको जिम्मा समेत लिन्छौ,” उनले भने, “एक किलो होस् वा एक सय किलो विक्री भएपछि बजारको चिन्ता लिनुपर्दैन ।”
गुरुङले सबैभन्दा छिटो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफी खेतीलाई प्रोत्साहन गरिएको बताए ।
शुक्लागण्डकी नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइसराइँ रोक्दै आयआर्जनमा जोड्ने उद्धेश्यसहित कफी खेती अभियान थालिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए। उने भने, “यहाँ उत्पादन हुने कफीले युवाहरुको कफीप्रतिको मोहलाई सम्बोधन गर्न सक्नेछ ।”
नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो । यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ । बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्धेश्यले शुक्लागण्डकी नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रम मार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो ।
शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले कृषकलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको पण्डितको भनाइ छ ।
यस अगाडी किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जा लगायतका जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्षदेखि कृष्मी बहुउद्धेश्यीय सहकारी संस्थासँगको समन्वयमा किसानको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गरिने उनकाे भनाइ छ ।
बाँदर लगायतको वन्यजन्तुबाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफीखेतीको राम्रो सम्भावना रहेको हुँदा आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्ने गरि तयारी गरिएको छ ।