हरेक आमाबाबुको चाहना हुन्छ – ‘आफ्ना बालबालिकाहरू ज्ञानी होउन् । पौरखी बनुन् । समाजले हाई-हाई गरोस् । सुन्दर र स्वास्थ्य रहुन् ।’ आमाबाबुमा यस्तो चाहना हुनु स्वाभाविक पनि हो । अहिलेका बालबालिका नै भविष्यमा परिवार, समाज र देशको आशा र भरोसाका आधार हुने भएकाले उनीहरूप्रति विशेष चासो रहनु आवश्यक पनि हुन्छ । आजका ज्ञानी बालबालिका नै भोलिका सुयोग्य सन्तान र असल नागरिक बन्ने भएकाले उनीहरूको लालन पालन र उनीहरूसँग गरिने व्यवहारमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।
बालबालिकाहरू जिज्ञासु हुन्छन् । आफूभन्दा ठूलाबडाको नक्कल गर्न निकै रुचि राख्दछन् । हामीले जे सिकायो उनीहरूले त्यही सिक्दछन् । यसर्थ आजका बालबालिकाहरूलाई कस्तो सन्तान/ नागरिक बनाउने भन्ने कुरा तपाईँ हामीमा नै निर्भर रहन्छ । दुई गोडाले हिड्न सुरु (एक डेढ वर्ष) देखि नै बालबालिकाहरूले तपाईँ हाम्रो देखासिकी गरेको हामी स्पष्ट अनुभव गर्न सक्छौँ । तपाईँ पुस्तक पढ्दै हुनुहुन्छ भने तपाईँ सँगैको बच्चा पनि कागज पायो भने हातमा लिएर आफ्नै पारामा पढ्न सुरु गर्छ । अरुले लेखेको देख्दा उसले पनि लेख्ने अभ्यास गरिरहेको हुन्छ । मोबाइल चलाएको देख्दा मोबाइल कानमा लगेर जानी नजानी हेलो भन्ने त्यस्तै खुर्पाले केही काटिरहेको देख्दा आँफूले पनि केही काटेको जस्तै गर्ने गर्दछन् ।
कसैले चुरोट सेवन गरेको देख्दा सानो काठको टुक्रा पाउँदा मुखमा लगी चुरोट खाएको जस्तै गर्दछन् । अर्थात अरूले जे गरिरहेको देख्छन् बालबालिकाहरू पनि त्यस्तै गर्ने प्रयास (नक्कल) गरिरहेका हुन्छन् ।बोलीमा उनीहरूले प्रयोग गर्ने शब्द (भाषा), शैलीमा पनि तपाईँ हाम्रो पुरकापुर प्रभाव परेको हुन्छ । यदि उनीहरूले अशिष्ट, अमर्यादित शब्द (भाषा) को प्रयोग गरिरहेका छन् भने यो उनीहरूको दोष होइन । यसमा हामी नै दोषी छौँ । किनकी ती शब्द उनीहरूले हामीबाट नै सुनेका हुन् । हामीबाट नै सिकेका हुन् । हामीले शिष्ट, मर्यादित र मिठासपूर्ण भाषाको प्रयोग गर्दा उनीहरूले पनि त्यही अनुसार सिकिरहेका हुन्छन् ।
यदि तपाईँ आफ्ना बालबालिकाहरू पढाइमा विशेष ध्यान दिने बनुन् भन्ने चाहना राख्नुहुन्छ भने उनीहरू (दुई, तीन वर्षका हुँदादेखि नै) सुत्ने, बस्ने कोठामा किताब, कापी र कलम (सकभर रङ्गिन) राखिदिनोस् । ती किताब, कापीमा आँफूले पनि पढ्ने लेख्ने गर्नुहोस् । अब स्वत: तपाईँको बच्चाले जानी नजानी पढ्ने लेख्ने अभ्यास गर्नेछ । बिस्तारै उसमा यो बानीको रुपमा बिकास हुने गर्दछ । हो, सुरुमा उसले पढेको लेखेको केही पनि नमिल्न सक्छ । तर बच्चालाई तिमीले पढेको लेखेको मिलेन भएन भनेर बिलकुल नभन्नु होला । हप्काउने, कुटपिट गर्ने कुरा त झनै प्रतिउत्पादक हुनेछ । बरु म यसरी लेख्छु/ पढ्छु । तिमी पनि यसरी लेख पढ भनी नरम भाषामा सम्झाउनु उचित हुनेछ । भरखरका बच्चाहरूलाई तिमीले यति त जसरी पनि लेख्नुपर्छ, पढ्नुपर्छ भनी जोरजबर्जस्ती गर्नु हुँदैन । सानो बच्चा हो, उसले किताब, कापी च्यात्नसक्छ । कलम भाँच्नसक्छ, हराउन सक्छ । जथाभाबी केरकार गर्न सक्छ । तर उसलाई नराम्रो केही नभन्नुहोला । सानो बच्चा उमेरमा यी कुराहरूलाई स्वाभाविक रुपमा लिनुपर्छ । यस्ता कुरा आम बच्चाहरूमा हुने गर्छन् ।
बालबालिकाहरूमा ‘फाष्टफुड’को प्रयोग अहिलेको बिकराल समस्या हो । यसले उनीहरुको मानसिक र शारीरिक स्वास्थ्य दुबैमा धेरै नकरात्मक असर गरिरहेको हुन्छ । यो समस्या पनि हामीले नै जन्माएका हौँ । हामी आफ्नो सजिलोको लागि सानो बच्चादेखि नै बजारमा सजिलै पाइने बनिबनाउ खानेकुरा फाष्टफुड ख्वाउने गर्दैछौँ । यसले गर्दा उनीहरूको जिब्रोको स्वाद लिने बानी बिग्रिसकेको हुन्छ । अनि उनीहरू हरसमय फाष्टफुड कै माग गर्ने गर्दछन् । अहिले धेरैजसो बच्चाहरूमा घरमा बनेका खानेकुराहरू खानमा रुचि नदेखाउने, तरकारीको रुपमा हरिया सागपात खानुपर्दा मुख बिगार्ने गरेको देखेका/भोगेका छौँ । हामीले सानैदेखि घरमा नै बनाउन सकिने लिटो, जाउलो त्यस्तै उमेर अनुसार क्रमश: दाल, भात, हरिया सागसब्जी, गेडागुडी, दुध अनि खाजाको रुपमा भुटेको मकै, भटमास, चिउरा, चना आदि खान दिँदै आयौँ भने फाष्टफुडको समस्याबाट पार पाउन सक्नेछौँ ।
खानेकुरामा पनि सानैदेखि जे बानी लगायो (सिकायो) पछिसम्म पनि त्यही अनुसारको रूचिको बिकास हुने कुरामा हामी सचेत हुनु आवश्यक छ । बच्चाहरू चञ्चले स्वभावका हुन्छन् । उनीहरूको मन एक पछि अर्को कुरामा गइरहेको हुन्छ । नयाँ नयाँ विषयमा चासो दिनु, आफ्ना लागि फरक फरक कुराहरूको चाहना राख्नु बाल स्वभाव नै हो । अन्य साथीहरूको देखासिकी गर्दै उनीहरूका माग/चाहना अस्वाभाविक बन्दै गए भने मिठासपूर्ण किसिमले सम्झाई बुझाई गर्दा वा अन्य कुनै रोचक विषय वस्तुको सन्दर्भ जोडेर उनीहरूको चित्त बुझाउन सकिन्छ । खेलौना, उमेर अनुसार उनीहरूलाई सहज हुने खेल, कथा, कविता, गीत, चित्र, भ्रमण आदिका माध्यमबाट उनीहरूको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिन्छ । संक्षेपमा भन्नुपर्दा बालबालिकाहरूले जिज्ञासाबस केही क्रियाकलाप गर्दै नयाँ कुरा सिक्ने गर्दछन् । यसर्थ उनीहरूको जिज्ञासा अनि क्रियाकलापमा हामी सकारात्मक सहयोगी बन्न सक्नुपर्दछ । हामी यसलाई यसरी पनि भन्न सक्छौँ -बालबालिकाहरूमा,जिज्ञासा > क्रियाकलाप > सिकाइ > उत्साह > अझ बढी सिकाइ