विकास भन्ने शब्द हामी आम नेपालीहरूको जनजिब्रोमा झुण्डिने प्रिय शब्द हो । हामी सबैले भन्ने गर्छौं कि गाउँघरको विकास हुन सकेन ,देशको विकास हुन सकेन । सामान्य अर्थमा हामीलाई लाग्छ , विकास भनेको बाटोघाटो ,पुलपुलेसा , खानेपानी ,सडक आदि भौतिक पूर्वाधारका संरचना निर्माण हुनु हो । तर भौतिक पूर्वाधारका संरचना निर्माण हुनु मात्र विकास होइन ।
उदाहरणको निम्ति झापादेखि कञ्चनपुरसम्मका तराईका जिल्लाहरूलाई हेरौं । त्यहाँ सबैखाले भौतिक पूर्वाधारका संरचनाहरू निर्माण भइसकेका देखिन्छन् । तर हिमाल पहाडको तुलनामा त्यहाँका मानिसहरू गरीब छन् र घरहरू झुपडीजस्ता छन् । त्यसैले मानिसहरूलाई कसरी धनी बनाउन सकिन्छ र कसरी मानिसहरूका घर पक्की बन्छन् भन्ने कुरा बुझेर जीवनस्तर उकास्नको लागि सशक्तिकरण कार्यक्रम अघि बढाउनु पनि विकासको एक पाटो हो । कसैलाई माछा दियो भने उसले एकछाक माछा खान पाउँछ ,तर बल्छी दिएर माछा मार्ने तरीका सिकाइयो भने उसले सधैंं माछा खान पाउँछ । अर्थात् , प्रतिभा ,शीप र ईलमको सदुपयोग हुन सकेमा मान्छे आत्मनिर्भर बन्न सक्छ । आत्मनिर्भर हुनु पनि एक प्रकारको विकास नै हो भनेर बुझ्नु जरूरी छ ।
हामीहरू अचेल दीगो बिकासको कुरा गर्छौं । वास्तवमा विनाश विनाको विकास नै दीगो विकास हो । वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पूर्ति गर्दै जानु दिदीगोगो विकास हो ।वातावरण संरक्षणका लागि दिगो विकास महत्त्वपुर्ण मानिन्छ । दीगो विकासको ध्येय पृथ्वीका स्रोत साधन नाश नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दीगो विकास सम्पुर्ण जीवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकूल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ । त्यसैले दीगो विकासको महत्त्व धेरै रहेको देखिन्छ ।
दीगो विकासबाट स्रोत र साधनको उचित प्रयोग हुने भएकाले वातावरण संरक्षण र संवर्धनमा सहयोग पुग्छ ।प्राकृतिक स्रोत र पशुपन्छी सम्बन्धमा हाम्रो दृष्टिकोणमा परिवर्तन आउने हुनाले यसले मानिसको दृष्टिकोणमा परिवर्तन ल्याइ दायित्वबोध गराउँछ ।मानव र प्रकृतिबीचको सम्बन्ध फलदायी, सकारात्मक र सहयोगी बनाउँदै विकास गर्न सघाउ पुर्याउँछ । वर्तमानको आवश्यकता र चाहना परिपूर्तिका लागि भविष्यसँग सम्झौता नगर्न र प्राकृतिक स्रोत–साधनको सन्तुलित र बुद्धिमतापूर्ण प्रयोग गर्न सघाउ पुर्याउछ । विकासका नीतिगत र कार्यगत निरन्तरता कायम राख्न र मानव स्रोतको विकास गर्न, संस्थागत क्षमताको विकास गर्न ,स्रोत–साधनको उपयोगमा नैतिकता र विवेकशीलता कायम राख्न र पृथ्वीले वहन गर्न सक्ने क्षमतालाई खलल नपर्ने गरी विकास गर्न पनि दीगो विकासको आवश्यकता रहेको छ । तर हामीले दीगो विकासको अवधारणालाई व्यवहारमा लागू गर्न सकिरहेका छैनौं ।
बितेका ५० वर्षको अवधिमा भएका विकास निर्माणका कार्यक्रमहरूको विश्लेषण गर्ने हो भने हाम्रो देशमा निकै नै विकास भएको देखिन्छ । पहिलेको तुलनामा हामी निकै नै सुविधाभोगी हुँदै गएका छौं । तर हामीले त्यो बेलाको परम्परा,संस्कार र चालचलन कायम राख्न सकेनौं । अचेल श्रमको मूल्य श्रमले नै तिर्ने जमाना हराउँदै गएको र सबैले पैसामुखी नीति अपनाउने गरेकाले कृषि पेशाबाट मानिसहरू पलायन हुँदै जान थालेका छन् । यसले गर्दा दैनिक जीवनयापनमा परनिर्भरता बढ्दै जान थालेको हो ।
५० वर्ष अघिको समाज र वर्तमान समाजलाई दाँजेर हेर्ने हो भने हामीले धेरै कुरा गुमाएको प्रष्ट देखिन्छ । त्यो बेला मानिसहरू धेरै दु:खकष्ट सहन्थे तर ताजा र स्वास्थ्यबर्द्धक खाना खान्थे । वर्षमा एकपटक नून र दसैंमा कपडा मात्र किने पुग्थ्यो । अरू सबथोक घरमा नै उत्पादन हुन्थ्यो । देशले आयात कम र निर्यात धेरै गरेको हुन्थ्यो । अहिले भने रेमिट्यान्स (विप्रेषण ) ले अर्थतन्त्र धानिएको छ तर त्यो रकम आयातमा खर्चिनुपर्ने भएकोले सबै बाहिरिन पुगेको हुन्छ ।
अहिले हामी नेपालीहरू धेरै अर्थमा परनिर्भर हुँदै गएका छौं । भारतले नाकाबन्दी लगाइदियो भने हाम्रो दैनिक जीवन नै तहसनहस हुन पुग्छ । अहिलेसम्म भारतले छ पटक नाकाबन्दी लगाइसकेको छ । पहिलेका नाकाबन्दीभन्दा पछिल्ला नाकाबन्दीहरू कष्टपूर्ण हुँदै गएका थिए । अब हुने नाकाबन्दी भने हाम्रा निम्ति निकै सकसपूर्ण हुनेछन् । त्यसैले ,आत्मनिर्भरता पनि विकास र स्वाभिमानको एक महत्वपूर्ण पाटो हुन आउँछ ।
वास्तवमा विकास् भनेको हरेक क्षेत्रमा हुने सकारात्मक परिवर्तन हो । विकासका उद्धेश्यहरु निम्नानुसार रहेका छन् –
१.राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र यसमा दिगोपनाको प्रत्याभूति गर्ने ।
२.मानव जीवनका आधारभूत आवश्यकताहरू खाद्यान्न, आवास, कपडा, स्वास्थ्य शिक्षा, खाने पानी र सुरषाको उपलब्ध र वितरणमा प्रभावकारिता ल्याउने ।
३.जनताको जीवनस्तर उच्च तुल्याउन रोजगारीका अवसरहरूमा वृद्धि, आय, आर्जनका अवसरहरूको उपलब्धता, शिक्षा संस्कृति र मानवीय मूल्यको प्रवर्धनमा जोड दिने ।
४.राष्ट्रको सामाजिक आर्थिक स्थितिलाई सामयिक रूपान्तरण गर्ने ।
५.सरकारको प्रभावकारिता र विश्वसनीयता अभिवृद्धि गर्ने ।
विकास भनेको राजनीति, सामाजिक, आर्थिकजस्ता सम्पूर्ण क्षेत्रको समुन्नत प्रगति हुनु नै विकास भन्न सकिन्छ । यी क्षेत्रहरूको विकास गर्नु नै विकासको मूर्त रूप हो । त्यस कारण अहिले सबै देशहरू यही अभियानमा लागेका देखिन्छन् ।
विकास भन्ने शब्द धेरै अवयवसँग सम्बन्धित हुन्छ । त्यस्तै गरी विभिन्न देशहरूसँग पनि । नेपाल जस्तो अतिकम विकसित देशमा विकासको चाहना भनेको गाँस, बास र कपास नै हुन् । खान, बस्न र आङ छोप्न पाए पुगिहाल्यो । यति कुरा पुग्यो भने विकास भइहाल्यो । त्यस्तै सामान्य शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता न्यूनतम मानवीय आवश्यकता पूर्ति भए भइहाल्यो । अरु कुरा हामीहरूको लागि परको हुन जान्छ । यसैलाई हामी विकास भन्न सक्दछौँ ।
विकासको कुरा गर्दा आर्थिक विकास् पनि जोडिएर आउने गर्छ । आर्थिक विकास भनेको आर्थिक र गैरआर्थिक क्षेत्रहरुको सकारात्मकपरिवर्तन र विकास भएको अवस्था हो। यो कुनै पनि मुलुकको अर्थव्यवस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया हो। आर्थिक विकास भन्नाले भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सन्चार, सरसफाई आदिमा भएको गुणात्मक तथा परिमाणत्मक परिवर्तन भन्ने बुझिन्छ।
जसरी मानव विकासमा अविभावक र गुरुहरूको भूमिका महत्वपूर्ण हुन्छ ,त्यसरी नै देशको समग्र विकासमा व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाको कार्यसम्पादनका साथै राजनीतिज्ञ, कर्मचारी र विकास सम्पादनमा सम्बद्ध सबै जनशक्तिको आचरण पवित्र हुनु जरुरी हुन आउँछ । कागजमा उतारिएका हरेक आयोजना र गुरुयोजनाहरू प्रभावकारी ढङ्गले कार्यन्वयन गर्नसके मात्र विकासले मूर्तरुप लिन सक्नेछ भन्ने कुरामा अत्युक्ति नहोला ।