दमौली अस्पतालमा सामान्य छ भनेको बिरामीलाई पोखरामा जॉच गर्दा निमोनिया देखिएपछि …
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा सामान्य छ भनेको बिरामीलाई पोखरामा जॉच गर्दा निमोनिया देखिएपछि …

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८१, बुधबार

    दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा जॉच गर्दा सामान्य छ भनिएका बिरामीलाई पोखरामा जॉच गर्दा निमोनिया भएको पुष्टि भएको छ ।

    दमौलीका सुदीप पौडेललाई दमौली अस्पतालका चिकित्सकले सामान्य छ भनेपनि सन्चो नभएपछि पोखरा गएर जॉच गर्दा निमोनिया पुष्टि भएको हो ।

    ज्वरो आएपछि गत शनिबार परीक्षणका लागि दमौली अस्पताल पुगेका पौडेललाई पिसाब परीक्षण गर्न लगाएर पिसाबमा खराबी भन्दै औषधि दिइएको थियो । चिकित्कसले दिएको औषधिले पनि ज्वरो नघटेपछि पुन: अस्पताल पुगेर छातीको एक्सरे गराएको पौडेलले बताए ।

    उनले भने, ‘एकैछिनमा छातीको एक्सरे गरियो र करिब आधा घण्टामा रिपोर्ट पनि हात पर्यो। रिपोर्ट लिएर फेरि म डाक्टरकोमा गएँ। उनले त्यो एक्सरे रिपोर्ट हेर्दै तपाईँलाई छातीमा कुनै पनि समस्या छैन बरु तपाईंको त्यो पिसाब चाहिँ खराबी रहेको कारणले त्यसलाई कल्चर गरेर हेरेर ब्याक्टेरिया पत्ता लगाउनुपर्छ भने र सोही अनुरूप पिसाबको नमुना दिएर जान आग्रह गरे ।’

    चार दिनसम्म दमौली अस्पताल चहार्दा पनि समस्या पत्ता नलागेपछि पोखरा फेवासिटी पुगेर जॉच गराउँदा निमोनिया देखिएको पौडेलले बताए ।

    उनले भने, ‘ दुर्भाग्य भन्नुपर्छ दमौली अस्पतालको डाक्टरले एकदमै राम्रो छ भनेको मेरो एक्सरे रिपोर्टलाई डाक्टर बुद्धिबहादुरले हातमा लिने बित्तिकै बिरामीमा निमोनियाको संक्रमण छ भन्नुभयो ।’

    दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले यसबारेमा बुझ्ने बताए ।

    पौडेलले भनेका छन् –

    तपाईँ दमौली अस्पतालको प्रमुख र डाक्टरको विशेषता अनुसार मेडिकल सर्जन भन्ने मैले सुनेँ। तर तपाईँ जस्तो बरिष्ठ सर्जनले नेतृत्व गरिरहेको अस्पतालमा डाक्टरको यो हदसम्म कमजोरी रहे पछाडि मैले आफूले त दुःख पाए नै तर आगामी दिनमा दमौलीबासीले यस्तो दुःख नपाउन भन्दै मैले तपाईँलाई पत्र लेख्न बाध्य भएकाे छु ।

    गत शुक्रबार मंसिर २८ गते राति मलाई सामान्य ज्वरो आयाे तर भोलिपल्ट दिनभरि आराम जस्तै लाग्यो। त्यसैले म शनिबार दिनभरि घरमै आराम गरी बसें ।

    तर शनिबार राति जब मेरो ज्वरो १०२ डिग्री सम्म पुग्यो तब भोलिपल्टै बिहानै यानिकि आइतबार दमौली अस्पताल पुगेँ। अस्पताल गएर आफूलाई सामान्य खोकी लागेको र ज्वरो आएको डाक्टरसामु बताए । त्यसपछाडि डाक्टरले रगत र पिसाब चेक गर्नुपर्ने भन्दै टिकट काट्नलाई पठाए ।

    सोही बमोजिम अस्पतालको ल्याबमा गएर रगत र पिसाब जाँचको लागि दिएँ।

    दुई तीन घण्टाको अन्तरालमा सबै रिपोर्टहरू प्राप्त भयो। ल्याबले दिएको सबै रिपोर्टहरू लिएर म डाक्टरलाई भेट्न गएँ। डाक्टरले पिसाबमा सामान्य खराबी देखिएको अन्य रिपोर्ट भने एकदमै राम्रो रहेको जानकारी दिए।

    र उनले लेखिदिएको केही सिटामोल र पिसाब सफाइ गर्ने झोल औषधि लिएर घरतर्फ गएँ।

    घरमा पुगेर आराम गर्ने भन्दै बस्दा बस्दै आइतबार राति पनि मलाई रातैभरि जरो आयो ।

    भोलिपल्टै बिहान फेरि दमौली अस्पताल पुगेँ। र डाक्टरलाई खोकी बढेको र ज्वरो पनि निरन्तर आइरहेको बताए । आफैले छाती चेक गराइदिनुस् भने।

    एकैछिनमा छातीको एक्सरे गरियो र करिब आधा घण्टामा रिपोर्ट पनि हात पर्यो। रिपोर्ट लिएर फेरि म डाक्टरकोमा गएँ। उनले त्यो एक्सरे रिपोर्ट हेर्दै तपाईँलाई छातीमा कुनै पनि समस्या छैन बरु तपाईंको त्यो पिसाब चाहिँ खराबी रहेको कारणले त्यसलाई कल्चर गरेर हेरेर ब्याक्टेरिया पत्ता लगाउनुपर्छ भने र सोही अनुरूप पिसाबको नमुना दिएर जान आग्रह गरे। र पिसाबको कल्चरको रिपोर्ट भने आउनलाई ४८ देखि ७२ घण्टा लाग्ने उनले बताए ।

    त्यसपछाडि म घरमा आएर सिटामोल र एन्टिबायोटिक लिँदै बसें । ६/६ घण्टाको अन्तरमा मलाई १०३ डिग्रीसम्म ज्वरो आइनै रह्यो। दुई दिन निकै कष्टकर तरिकाले पिसाबको कल्चरको रिपोर्ट कुर्ने भन्दै बसें र दुई दिन पछाडि ल्याबमा तयार रहेको रिपोर्ट लिएर दमौली अस्पतालकै डाक्टर कक्षमा गए । यसपटक भने उनी ( डाक्टर) अलि निराश देखिए, जुन समस्या छ भन्दै उनले मलाई रोकिरहेका थिए। पिसाबको कल्चरमा केही समस्या र ब्याक्टेरिया नदेखिए पछाडि अब भने तपाईँको समस्या हामीले पहिचान गर्न सकेनौं भने । बरु अब भने तपाईँ पोखरा तर्फ लाग्नहाेस् उनले सुझाव दिए।
    चार दिनसम्म दमौली अस्पतालको ढोकामा उपचारको लागि चहारेका हामी डाक्टरको त्यस्तो निराशाजनक जवाफ पछाडि तुरुन्तै पोखराको लागि अगाडि बढ्यौं । मेरो पोखरामा रहेकि दिदी र आफन्तजनको सल्लाह बमोजिम हामी फेवासिटी हस्पिटल पुग्यौं ।
    फेवा सिटी अस्पताल पोखराको इमर्जेन्सी वार्डको बेडमा पुग्ने बित्तिकै डाक्टर बुद्धिबहादुर थापाको आगमन भयो। सोही क्रममा हामीले दमौलीबाट लिएर गएको र २ दिनसम्म दमौली अस्पताल र घरमा ओहोरदोहोर गराएको एक्सरे रिपोर्ट डाक्टर बुद्धिबहादुरको हातमा थमाइदियौं ।

    तर दुर्भाग्य भन्नुपर्छ दमौली अस्पतालको डाक्टरले एकदमै राम्रो छ भनेको मेराे एक्सरे रिपोर्टलाई डाक्टर बुद्धिबहादुरले हातमा लिने बित्तिकै बिरामीमा निमोनियाको संक्रमण छ भनेर आफ्ना अन्य डाक्टर र नर्सहरूलाई उपचारमा खटाए ।

    र उपचारका सिलसिलामा भिडियो एक्सरे लगायतका अन्य रगत जाँचहरू गर्दा फोक्सोमा थोरै पानी देखिएकोले भर्ना गरेर राम्रोसँग उपचार गर्नको लागि डाक्टरले सुझाव दिए ।

    डाक्टर बुद्धिबहादुर थापाको सल्लाह बमोजिम तिन दिनसम्म अस्पतालमा निरन्तर उपचार गरी तत्कालको लागि निमोनियालाई परास्त गरेर म दमौली आउन सफल भएको छु।

    अन्त्यमा डाक्टर बरालज्यू,

    हिजोका दिनहरूमा हामीले दमौली अस्पतालमा प्रविधिको राम्रो व्यवस्थापन हुन सकेन, रिपोर्टहरू सहि आउन सकेनन्, दमौलीमा एउटा रिपोर्ट आयो पोखरामा गएर चेक गर्दा अर्कै आयो भन्नुपर्थ्यो। तर आज अस्पतालमा सबै प्राविधिक पक्ष राम्रो भएतापनि ल्याब र अन्य सम्पूर्ण मेसिनहरुले राम्रो नतिजा दिए पनि त्यसलाई हेर्ने डाक्टर र प्राविधिकको भने अत्यन्तै कमजोरी रहेको मैले अनुभव गरेँ । 

    तपाईँ आफै भन्नुस् डाक्टर साब तपाईँले नेतृत्व गरिरहेको दमाैली अस्पतालको डाक्टरले मेरो एक्सरे रिपोर्ट समयमै सही तरिकाले हेर्न सकेको भए मैले यो हदसम्मको दुख: पाउँथे कि पाउँदैनथें ? त्यसैले मैले त्यस अस्पतालकाे कमजोरीले गर्दा पाएको दुःख अन्य बिरामीहरूले आगामी दिनहरूमा नपाउने वातावरण बनाइदिनुहुन अनुरोध गर्दछु।