दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँले रक्तसञ्चार केन्द्र सञ्चालनमा सहयोग गर्ने जिल्लाका पालिकालाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी रेडक्रसले जिल्लाका विभिन्व पालिकालाई सम्मान गरेको हो ।
रक्तसञ्चार केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्नका लागि रु ५० लाखको अक्षयकोष बनाउने अभियानमा सहयोग पुर्याए बापत व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र रेडक्रस सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले सम्मान गरेका थिए ।
सो अवसरमा समन्वय समिति प्रमुख वाग्लेले मानवीय सेवामा रेडक्रसको योगदान सधैं उच्च रहँदै आएको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, सत्यवती माविका प्रधानाध्यापक पुष्पकला भट्टराई, रेडक्रसका मन्त्री सूर्यचन्द्र हड्खले लगायतले बोलेका थिए ।