दमाैल । लायन्स क्लब अफ तनहुँ सत्यवतीले व्यास ३ स्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। क्लबले आइतबार विद्यालयका ३२ जना बालबालिकाका लागि न्यानो कपडा स्विटर वितरण गरेको हो।
लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष पवित्रा खनालको अध्यक्षतामा आयोजित न्यानो कपडा स्विटर वितरण कार्यक्रममा व्यास ३ कि वडा सदस्य विनु श्रेष्ठले सामाजिक कार्यमा सक्रिय लायन्सले असहाय विपन्न र गरिब विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण गरेकोमा खुसी व्यक्त गरिन्।
खासगरी महर्षी संस्कृत माध्यमिक विद्यालयमा गरिब, विपन्न र असहाय बालबालिकाहरु अध्ययन गर्ने हुँदा यस विद्यालयका लागि सबैको सहयोगको खाँचो रहेको उनले बताइन् । क्लबले गरेको न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीहरुलाई विद्यालय आउने वातावरणमा केही सहजता प्रदान गरेको उनको विश्वास थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक नरेन्द्रनाथ न्यौपानेले न्यानो कपडा वितरणका लागि महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालय छनोट गरेकामा आभार प्रकट गरेका थिए । उनले गरिब, असहाय र विपन्न बालबालिकाका लागि भनेर वितरण गरिएको न्यानो कपडाबाट जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने पुष्टि गरेको बताए।
क्लबले न्यानो कपडा वितरण लगायत थुप्रै सामाजिक कार्यहरू गर्दै आएको क्लबकी अध्यक्ष पवित्रा खनालले बताइन्। क्लबले केही दिनअघि मात्र जन कल्याण प्रतिष्ठान एकल अभियान नेपाल बाल संस्कार केन्द्रद्वारा सञ्चालित विद्यालयका ८० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो।