मास्टरसेफ साहको सक्रियतामा गेट कलेजमा बोल्न र सुन्न नसक्नेलाई निःशुल्क हस्पिटालिटी तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मास्टरसेफ साहको सक्रियतामा गेट कलेजमा बोल्न र सुन्न नसक्नेलाई निःशुल्क हस्पिटालिटी तालिम

    खबरपुञ्ज संवाददाता

    १० पुष २०८१, बिहीबार

    काठमाडौँ । बिबिसी मास्टरसेफ सन्तोष साहले बोल्न र सुन्न नसक्नेलाई लक्षित गरी हस्पिटालिटीसम्बन्धी निःशुल्क तालिम दिने अभियान सुरुआत गरेका छन् । 

    काठमाडौँका ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट)को भगिनी संस्था गेट पोलिटेक्निक इन्स्टिच्युटसँगको सहकार्यमा साहले उक्त अभियान सुरु गरेका हुन् । 
    यसका लागि विभिन्न संघ–संस्था र व्यक्तिहरूले हातेमालो गरेका थिए । मास्टरसेफ सन्तोष शाहले स्विजरल्याण्डमा च्यारिटी डिनर आयोजना गरेर आर्थिक सहयोग जुटाएका थिए । “यो केवल सीप प्रदान गर्ने कुरा होइन, यो समावेशितालाई प्रवद्र्धन गर्ने विषय पनि हो”, मास्टरसेफ साहले भने, “सही मागदर्शन र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिहरूले समाजलाई उल्लेखनीय योगदान दिन सक्छन् । यो केवल सुरुवात हो; हाम्रो प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ ।”

    बोल्न र सुन्न नसक्नेहरुलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको सेफ साहले जानकारी दिए ।  साहले अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले  अभियान सुरु गरिएको बताए । 

    “यो हाम्रो पहिलेदेखिको योजना हो, जसअन्तर्गत पहिलो चरणअन्तर्गत तालिमप्राप्त जनशक्तिको आइतबार ग्रयाजुएसन भएको छ”, उनले भने, “तालिमप्राप्त दक्ष जनशक्तिलाई रोजगारीका पनि सुनिश्चिता पनि गर्छौ ।”

    उनका अनुसार  बारिस्ता तालिम, हाउस किपिङ, र बेकरी सञ्चालनलगायतका होटल व्यवस्थापनका विभिन्न विधामा आवश्यक सीप हासिल गरेका ३१ ज्ना सहभागी थिए । सन् २०२४ को सुरुआतदेखि विभिन्न चरणमा गरी ३९० घण्टाको  प्रशिक्षण प्राप्त बहिरा युवालाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको हो । साहको सक्रियतामा यसअघि पनि जनकपुरस्थित मिथिला थालीमार्फत पनि यसप्रकारका कार्यक्रम हुँदै आएको उनले बताए ।

    त्यसअवसरमा गेट पोलिटेक्निक इन्स्टिच्युटका महाप्रबन्धक विवेक पौडेलले सुरुमा आफूहरुसँग दोभाषे नभए पनि अहिले भने सजिलो भएको बताए । उनका अनुसार सन् २०२४ मा युनिसेफको सहकार्यमा ६ जना बहिरा युवालाई प्रशिक्षण दिन सुरु भए पनि कार्यक्रमले सफलता पाएसँगै कार्यक्रम विस्तार गरी वर्षको अन्त्यसम्म ३१ जनालाई निःशुल्क तालिम प्रदान गरिएको हो ।

    तालिममा सहभागी अनिल कुमार हमालले तालिमपछि सोही होटलमा रोजगारी पाएको बताए । उनले भने, “भाषाका कारण सञ्चार आदानप्रदानमा अझै केही कठिनाइ छ, तर मैले पाएको सीपले नयाँ ढोका खोलिदिएको छ ।”

    गेट कलेज समूहका संस्थापक तथा प्रमुख कार्यकारी खेम लकाईले यस कार्यक्रमको पछाडिको फराकिलो उद्देश्यलाई जोड दिए । “हामीले १८ वर्षअघि नेपालमा आतिथ्य शिक्षामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शैक्षिक प्रतिष्ठान स्थापना गर्ने लक्ष्य राखेका थियौं । आज, हाम्रो दृष्टिकोणलाई समावेशी बनाउँदै, यस्तो सीप विकास अभियानलाई अगाडि बढाउँदैछौं,  यो दीर्घकालीन प्रतिबद्धताको सुरुवात हो ।”

    गेट कलेज समूहका संस्थापक लकाईले अपाङ्गता भएका व्यक्तिहरू लगायत सीमान्तकृत समूहहरूको सशक्तिकरणप्रति संस्थाको लामो समयदेखिको प्रतिबद्धता दोहो¥याए । यो अभियानमा राष्ट्रिय बहिरा महासंघ, गण्डकी बहिरा संघलगायत विभिन्न सरोकारवाला निकायको प्रत्यक्ष सहभागिता थियो ।